काठमाडौं, जेठ २९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शौचालय सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने भनेका सरकारी, निजी संघसंस्थालाई कर छुट दिन नसकिने प्रष्ट पार्नुभएको छ ।
शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि महानगरले जवरजस्ती नगरिएको भन्दै उहाँले कर छुट दिन नसकिने बताउनु भएको हो । ‘हामीले कर गरेर शौचालय प्रयोग गर्न दिनु भनेको होइन। उहाँहरूले हामी सेवा दिन चाहन्छौं भन्नुभएको हो,’ कार्यपालिका बैठकमा आज साहले भन्नुभयो, ‘उहाँहरूलाई कर छुट दिन सकिन्न। रेष्टुरेन्टलाई कर छुट दिँदा बैंकलाई दिन सकिन्छ कि सकिन्न भन्ने आउँछ।’
कसैलाई कर छुट दिने कसैलाई नदिने गरी महानगरले भेदभाव गर्न नमिल्ने पनि उहाँले बताउनु भयो । उहाँले महानगरका तर्फबाट हरेक चार महिनामा ती सार्वजनिक प्रयोग गर्न दिइएका शौचालयमा सरसफाइ सामग्री दिने बताउनु भयो ।

कार्यालयका सार्वजनिक शौचालय भने कार्यालय खुलेको बेला मात्रै खुल्ने जानकारी पनि उहाँले दिनुभयो । उहाँका अनुसार महानगरले बनाएका सार्वजनिक शौचालय भने २४ सै घन्टा खुल्ने छ ।
बैठकमा उपमेयर सुनिता डंगोलले सवैको सहयोगबाट नै महानगरले प्रगति गर्न सक्ने भन्दै राम्रो काठमाडौं महानगर बनाउने अभियानमा सहयोगी भूमिका खेल्नुपर्ने बताउनु भयो । बैठकमा राखिएको एजेण्डामा सवै सदस्यहरुले सहमति जनाएर राम्रो सहयोग गरेको पनि उपमेयर सुनिताले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्