काठमाडौं, जेठ २९ । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनामा थप १८ करोड ब्ययभार थपिएको छ । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना निर्माणको क्रममा कमजोर चट्टान भेटिएर नयाँ भेरिएसन गर्दा र स्थानीय नागरिकको अवरोधले काम गर्न नपाउँदा आयोजनाको व्ययभार १८ करोड थपिने भएको हो ।
निर्माणाधीन आयोजनाको इभाक्युएसन टनेल (आपत्कालीन सुरुङमा) मा कमजोर चट्टान भेटिएर डिजाइन परिवर्तन गर्नुपरेकाले आयोजनालाई थप ९ करोड रूपैयाँको व्ययभार थपिएको छ । त्यस्तै स्थानीयको आन्दोलनले आयोजनाको निर्माण कार्य गत (चैत–वैशाख) महिनामा एक साता ठप्प हुँदा जापनिज निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले दैनिक डेढ करोड रूपैयाँको दरले ६ दिनको ९ करोड रूपैयाँ र तीन महिना म्याद थपको दाबी गरेको छ ।
अहिलेसम्म ८६ दिन म्याद थप भइसके पनि कम्पनीले माग गरेको ९ करोड क्लेम आयोजनाले स्वीकृत गरिसकेको भने छैन । यो विषय अहिले विवाद निरूपण हुने क्रममा छ । नागढुंगा सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले इभाक्युएसन टनेलको डिजाइन परिर्वतन भएकाले १५ अर्ब रूपैयाँको ०.६ प्रतिशतको दरले ९ करोड रूपैयाँ भेरिएसन स्वीकृति भइसकेको बताउनु भयो ।
बाहिरी जिल्लालाई राजधानी काठमाडौंसँग जोडने एक मात्र नागढुंगा नौबिसे सुरुङ मार्ग अन्तर्गत मुख्य सुरुङको करिब आधा भाग खनिएको छ । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार मुख्य सुरुङको कुल लम्बाइ २६ सय ८८ मिटर मध्ये अहिलेसम्म १२ सय ८३ मिटर मात्रै सुरुङ खनिएको छ । गत मे महिनामा भने ७९ मिटर सुरुङ खनिएको छ ।
आयोजनाका निर्देशक शाक्यका अनुसार आयोजनाले नरम खालको चट्टान भेटिने एष्टिमेट गरेका थिएन तर निर्माणको क्रममा नरम र कमजोर चट्टान भेट्टियो । यसबाहेक स्थानीयले पुल र अन्य संरचना लगायतको माग समेत गरेकाले सो रकम बराबरको भेरिएसन भएको हो, यसले एकातर्फ आयोजनाको लागत बढेको छ भने अर्काेतर्फ आयोजना निर्माण सम्पन्न हुने म्याद पनि पर सरेको छ ।
आयोजनाले ठेकेदार कम्पनीलाई ८६ दिन म्याद पनि थप गरेको छ । आयोजनाका निर्देशक शाक्यले इभाक्युएसन टनेल खन्ने क्रममा माथिल्लो भागबाट चट्टान निरन्तर झर्ने समस्या देखिएसँगै डिजाइन परिवर्तन गरेर ‘गाउन्टिङ स्टेप्लाइजिङ’ गर्दा भेरिएसन गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।
सुरुङमार्ग खन्दा कमजोर चट्टान भेटिएसँगै स्टिलको रड लगायतका सामग्री राखेर सुरुङलाई स्टेप्लाइज गर्नुपर्ने भएको छ । आयोजनाका निर्देशक शाक्यले इभाक्युएसन टनेलमा कमजोर चट्टान भेटिएसँगै यो खण्डमा डेढ महिनाजति काम रोकिएको बताउनु भयो । अहिले इभाक्युएसन टनेलको डिजाइन रिभ्यु गरेर परिवर्तन गरेका छौं । अब भने इभाक्युएसन टनेलको कामले गति लिनेछ ।’
फेरि सर्योे ब्रेकथ्रूको समय
आयोजनाले सुरुको चरणमा आगामी साउनमहिनाभित्रै नागढुंगा–नौबिसे सुरुङमार्गको सुरुङ ब्रेक थ्रु (छेड्ने काम) गर्ने लक्ष्य राखेको थियो । गत चैतदेखि इभाक्युएसन टनेलतर्फ कमजोर चट्टान भेट्टिएसँगै आयोजनाको ब्रेक थ्रु गर्ने म्याद आगामी असोज–कात्तिकमा धकेलिएको थियो तर अब भने असोज कात्तिक महिनामा पनि ब्रेक थ्रु नहुने सम्भावना बढेको छ । आयोजनाले पनि ब्रेक थ्रु गर्न नहतारिने स्पष्ट पारेको छ ।













प्रतिक्रिया दिनुहोस्