जनता टाइम्स

३० जेष्ठ २०७९, सोमबार १६:४३

अर्थमन्त्रीले गम्भीर गल्ती गरेको प्रचण्डको निश्कर्ष, सुझाए दुई बिकल्प


काठमाडौं, जेठ ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन निर्देशन दिनुभएको छ । बजेट लेखनमा अनाधिकृत व्यक्तिको भूमिका र करको दायरा हेरफेर गरी राज्यलाई अर्बाैं घाटा पारिएको तथ्य उजागर भएपछि प्रचण्डले निवासमै बोलाएरु अर्थमन्त्री शर्मालाई राजीनामा दिन निर्देशन दिनुभएको हो ।

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकले आइतवार अर्थमन्त्री शर्माको गम्भीर अपराधबारे तथ्य सार्वजनिक गरेको थियो भने आज थप उजागर गर्दै बजेट निर्माणमा कसरी बदमासी गरियो भन्ने बिषयको खुलासा गरेको छ । सो घटनालगत्तै प्रचण्डले अर्थमन्त्रीको कारण पार्टी नै गम्भीर संकटमा परेको भन्दै पद त्याग्न निर्देशन दिनुभएको खुमलटारस्रोतले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार बेलुकी अर्थमन्त्री शर्मालाई निवासमा बोलाई बजेटमा अनाधिृकत व्यक्तिको भूमिकाका बारेमा स्ष्टिकरण लिनुभएको थियो । दाहालले मिडियामा आए जस्तै बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रयोग गर्नु भएको हो भनेर प्रश्न गर्दा अर्थमन्त्री शर्माले आफूबाट केही गल्ती भएको हुन सक्ने स्वीकार गर्नुभएको थियो । शर्माको यो भनाईसँगै प्रचण्डले यति ठूलो बदमासी गर्ने ? भन्दै राजीनामा दिन निर्देशन दिनुभएको स्रोतको भनाई छ ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीकै अधिकांश नेताहरु समेत अर्थमन्त्रीको कार्यशैलीबाट असन्तुष्टि रहेको बताउनु भएको थियो । ‘यति ठूलो बेइमानी गरेर पनि पदमा रहिरहन सकिन्न, जोगाउन सक्ने अवस्था नै छैन, प्रधानमन्त्री र हाम्रै पार्टीका अधिकांश नेताहरुले तपाईको भूमिकाप्रति प्रश्न उठाएका छन्। तपाई स्वयंले राजीनामा गर्दा राम्रो हुन्छ, अन्यथा पार्टीले हटाउनु पर्छ,’ स्रोतका अनुसार अर्थमन्त्री शर्मालाई अध्यक्ष दाहालको निर्देशन थियो ।

शर्माले अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यराति बजेटमा हेरफेरमा संलग्न गराउनु भएको तथ्य आइतवार सार्वजनिक भएको थियो । खोज पत्रकार सुरेन्द्र काफ्लेले यो तथ्यलाई बाहिर ल्याउनु भएको हो ।

काफ्लेका अनुसार अर्थमन्त्री शर्माले घिमिरे कार्यकक्षमा पस्ने बित्तिकै त्यो चुकुल लगाउन निर्देशन दिएर मन्त्रालयका कर्मचारीलाई भन्नुभएको थियो, ‘उहाँहरू राजस्व विज्ञ हुनुहुन्छ । राजस्वका दरबारे मेरातर्फबाट उहाँहरूले केही फेरबदल गर्न सक्नुहुन्छ । उहाँहरूले जे–जे मिलाउनुहुन्छ, त्यसमै सही गरेर मकहाँ ल्याउनुहोला ।’ त्यसपछि कथित विज्ञहरूबाट बजेटका राजस्व दरमा निर्ममतापूर्वक तलमाथि भएको थियो । विश्लेषण–आँकलन गरेर बजेट तयार पारेका विज्ञ अधिकारीहरू ‘आयातित विज्ञ’का सामु निरीह र मौन रहनु परेको थियो ।