जनता टाइम्स

३० जेष्ठ २०७९, सोमबार १९:४१

संसदमा एमालेको प्रस्ताव सर्वसम्मत पारित : मल ल्याउन सम्भाव्य सबै उपाय लगाउन सरकारलाई निर्देशन


काठमाडौं, ३० जेठ । प्रतिनिधिसभा बैठकले किसानहरूलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिँदै विशेष प्रस्ताव पारित गरेको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेस गरेको अत्यन्त जरुरी सार्वजनिक महत्त्वको स्थगन प्रस्ताव, त्यसउपर छलफलमा भाग लिएका ४८ जना सांसद र कृषिमन्त्रीको जवाफको पृष्ठभूमिमा सबैको समान धारणा देखिएकोले सभामुख अग्निप्रसाद सापकोटाले विशेष प्रस्ताव सदनमा पेस गर्नुभएको हो ।

उक्त विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । एमाले प्रमुख सचेतक बिशाल भट्टराईले यो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यस्तो छ पारित प्रस्ताव

रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रूपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहज रूपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।