जनता टाइम्स

३ असार २०७९, शुक्रबार १९:५१

१८ करोड बक्यौता रहेको विमान कम्पनीलाई उडान अनुमति दिन माधब नेपालको चलखेल


काठमाडौं, ३ असार । नेपाललाई विभिन्न शीर्षकमा १८ करोड बक्यौता तिर्न बाँकी रहेको मलेसियाको एयर एसियाले उडान भर्न लवि– गरिरहेको छ । काठमाडौं त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा एयरबसको वाइडबडी ए–३०० जहाजमार्फत हरेक दिन १ उडान गर्दै आएको एयर एसिया ३ वर्ष अघि सम्पर्क बिहिन भएको थियो ।

नेपाल पर्यटन बोर्डलाई ७ करोड, त्रिभुवन विमानस्थल र अन्य शुल्क गरी ११ करोड रुपैयाँ तिर्न बाँकी रहेको एयर एसियाले ‘बहिनी कम्पनी’ (सिस्टर कम्पनी) एयर एसिया थाईमार्फत पुनः काठमाडौँमा उडान गर्न लविङ गरिरहेको पाईएको छ ।

माधब नेपालको ‘पावर’का लागि लविङ

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) स्रोतले बन्द रहेको मलेसिया रोजगारी नेपालीहरुका लागि क्रमशः खुल्दै आएकाले एयर एसियाले उडान गर्न चाहेको पुष्टि गरेको छ । तर, क्यानका प्रवक्ता जगन्नाथ निरौला भने यसबारे आफूलाई जानकारी नभएको भन्दै पन्छिनुभएको छ । यता क्यान स्रोतले भने पुनः उडान गर्न चाहे तिर्न बाँकी रहेको बक्यौता तिरेर आवश्यक प्रक्रिया पूरा गर्न एयर एसियालाई भनिएको बताएको छ ।

एयर एसियाले एयर एसिया थाईबाट नेपालमा उडान गर्ने गरी जनरल सेल्स एजेन्ट नै नियुक्त गरिसकेको स्रोतले पुष्टि गरेको छ । यसअघि एयर एसिया हुँदाका जनरल सेल्स एजेन्ट हटाएर विशाल ग्रुपलाई नियुक्त गरेको छ । विशाल ग्रुपका अधिकारीले पर्यटनमन्त्री प्रेम आलेलाई नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधब नेपालले निर्देशन दिए बक्यौता पनि तिर्न नपर्ने र नयाँ उडान पनि पाईने भन्दै लविङ गरिरहेका छन् ।

एयर एसियाले तिर्न बाँकी दायित्व एयर एसिया थाईले तिर्न नपर्ने व्यवस्था गरिदिन र तत्काल उडान अनुमति दिलाईदिन विशाल ग्रुपका प्रतिनिधिहरुले मन्त्री आलेलाई भन्दा पनि अध्यक्ष माधब नेपाललाई भेट्ने गरेका छन् । ६ महिना अघिबाटै मलेसिया रोजगारी नेपाली श्रमिकका लागि खुल्ने तयारी हुनासाथ नै एयर एसियाले पुनः उडानको इच्छा देखाएको थियो ।

तर, नागरिक उड्डयन प्राधिकरणले १८ करोड बक्यौता नतिरेसम्म उडान अनुमति नदिने अडान लिएपछि उसले विशाल ग्रुपलाई जनरल सेल्स एजेन्ट बनाएर शक्ति केन्द्रमार्फत लविङ गरेको हो । एयर एसिया थाई एयर एसियाले लगानी गरेर खोलेको बहिनी कम्पनी हो ।

३ वर्ष अघि रकम नतिरी उड्न लागेको थाहा पाएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले एयर एसियाको जहाज नेपालबाट जान रोकेको पनि थियो । तर, मलेसियन दूतावासको मध्यस्थतामा उक्त जहाजलाई मलेसिया जान दिईएको थियो । तर, अहिलेसम्म बक्यौता उठ्न सकेको छैन । उल्टै, माधब नेपाल लगायतका नेताहरुको ‘पावर’ लगाएर पुनः अर्को नामबाट काठमाडौँमा उडान गर्न लविङ गरिरहेको भेटिएको हो ।