जनता टाइम्स

४ असार २०७९, शनिबार ११:१८

बर्षमानदेखि महरासम्मका स्वकीय सचिव थिए चार बर्षमै ६ करोड कमाउने नायव सुब्बा


काठमाडौं, असार ४ । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका नेताहरुको अडमा एउटा सरकारी कार्यालयका नायव सुब्बा (नासु) ले ४ बर्षमै ६ करोड कमाएको पाइएको छ । सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोडभन्दा बढी रुपैयाँ अकूत रूपमा कमाएको तथ्य आएसँगै माओवादी मन्त्रीहरुको कनेक्शन उजागर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि ती नासु र माओवादी मन्त्रीहरुको कनेक्शन बाहिर आएको छ । माओवादी मन्त्रीको आडमा यसरी ६ करोड बढी आर्जन गर्ने व्यक्ति हुन् स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक (नायब सुब्बा) स्तरका कर्मचारी भीमकान्त भण्डारी । भण्डारीले कमाएको ६ करोड रुपैयाँको स्रोत खुलाउन नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारको अनुसन्धानअनुसार भण्डारीले २१ असोज २०७३ सालदेखि २०७८ साल पुस मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत सम्पत्ति कमाएको पाइएको छ । भण्डारीले विभिन्न उपायअपनाएर अकुत सम्पति आर्जन गरेका थिए । चार वर्षको सरकारी जागिरको समयमा भण्डारी माओवादी केन्द्रबाट विभिन्न समयमा मन्त्री हुनुभएका वर्षमान पुन, कृष्णबहादुर महरा, आशा कोइराला र हितराज पाण्डेको स्वकीय सचिवका रूपमा काम गरेका थिए ।

वरिष्ठ व्यवस्थापन सहायक पदबाट भण्डारी २१ असोज २०७३ सालमा राजपत्र अंकित प्रथम श्रेणीअन्तर्गत सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका हुन । भण्डारी चार वर्ष मात्रै निजामती सेवामा रहँदा ६ करोड बढी अकूत सम्पति आर्जन गर्न सफल भएका हुन् । उनको सम्पत्ति छानबिनमा स्रोत नखुलेको सम्पत्ति ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ देखिएपछि सो रकम भ्रष्टाचार गरेको ठहर गर्दै गैरकानुनी सम्पत्ति जफत गर्न मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद एवं बिगोबमोजिम जरिमाना गर्न र स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरिएको अख्तियारका प्रवक्ता श्याम भण्डारीले जानकारी दिनुभयो । अख्तियारका अनुसार नासू भण्डारीले विभिन्न समयमा चार जना मन्त्रीको स्वकिय सचिव बसेकै बेला अकूत सम्पति आर्जन गरेको पाइएको छ ।

उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापामा कार्यरत रहे पनि जागिरको धेरै समय मन्त्रीको स्वकीय सचिवकै रूपमा सिंहदरबारमा बिताएका थिए । माओवादी केन्द्रका मन्त्रीहरूले उनलाई पालैपालो काजमा ल्याएर स्वकीय सचिव बनाएका थिए । त्यही समय नै भण्डारीका लागि अकूत सम्पति आर्जन गर्ने सुनौलो अवसर बनेको हो । मन्त्रीको स्वकीय सचिव रहँदा उनले विभिन्न बिचौलिया र तस्करसँग साँठगाँठ राखी अकूत सम्पति आर्जन गर्न सफल भएका हुन । उनले ठेक्का पट्टामा समेत मन्त्रीको अधिकारको दुरुपयोग गरी सेटिङ गर्ने गरेका थिए ।

माओवादी केन्द्रका चार मन्त्रीको स्वकीय सचिव रहँदा अकुत सम्पति आर्जन गर्न सफल भएपछि ती नायब सुब्बाले जागिर खाएको चार वर्षमा नै राजीनामा दिएर व्यापार गर्न थालेका थिए । मन्त्रीको स्वकीय सचिव हुँदा आर्जन गरेको अवैध सम्पतिले उनले ललितपुर कुपण्डोलमा विध ल्याब खोलेर मेडिकल व्यापार गर्दै आइरहेका थिए । उनको ठूलाठूला व्यापारीसँग समेत कनेक्सन रहेको छ । उनी माओवादीभित्र सेटिङ मिलाउने खेलाडीका रुपमा समेत परिचित छन ।