काठमाडौं, असार ६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिबारे मन्त्रीको जवाफ माग गरेको छ । एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने माग गर्नुभएपछि सभामुख अग्निप्रसाद सापकोटाले जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा एमाले सचिवसमेत रहनुभएकी सांसद अर्यालले मूल्यवृद्धिले जनतालाई आहात बनाएको भन्दै मन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो । ‘मूल्यवृद्धि गरेर जनतालाई आहात दिइएको छ । जनताको जीवन कष्टकर बनाइएको छ । एमाले टुलुटुलु हेरेर बस्न सक्दैन । यति छोटो समयमा किन यति धेरै मूल्यवृद्धि गर्ने अवस्था किन आइलाग्यो ?,’ अर्यालले भन्नुभयो, ‘किन बढाइयो भन्ने विषयमा मन्त्रीले जवाफ दिनुपर्छ । मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न सक्दैन । आज नै जवाफ दिनको निम्ती मन्त्रीलाई रुलिङ गर्नको निम्ती माग गर्दछु ।’
सांसद अर्यालको भनाईलगत्तै एमाले सांसदहरूले सिटबाट उठेर संसद बैठक अवरोध गरेका थिए । त्यसपछि सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई मूल्यवृद्धिबारे जवाफ दिन रुलिङ गर्नुभएको हो । सभामुखको रुलिङपछि एमाले सांसदहरू आफ्नो सिटमा बसेर सदनको अवरोध खोलेका छन ।













प्रतिक्रिया दिनुहोस्