काठमाडौं, असार ६ । सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज जग्गा धितो बन्धकी रोक नलगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।
अदालतको यो आदेशसँगै अब जग्गा जमिन धितो बन्धकी राखेर बैंक तथा बित्तीय संस्थाबाट ऋण लिने बाटो खुलेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो ।
उक्त निर्णयका कारण धेरै सर्वसाधारण मर्कामा पर्ने भन्दै विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
जग्गाको बर्गीकरण गर्ने आधारको रुपमा रहेको भू–उपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण नभइसकेको र अनिश्चितकालसम्म जग्गा धितो बन्धी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कुरामा अनुचित असर पर्न जाने सर्वोच्चको आदेशमा उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्