काठमाडौं, असार ११ । सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको हो ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, बजारको अनुगमन कडाइका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मूल्य पनि घटाउन पर्ने प्रस्ताव गर्नुभएको थियो ।
पौडलको प्रस्ताव अनुसार तत्काल मन्त्रिपरिषद्को बैठक बसेर पेट्रोलियम पदार्थमा लागेको कर कम गर्ने र तेलको मूल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय भएको हो । सरकारले बजार अनुगमनलाई पनि कडाइ गर्ने सहमति पनि बैठकमा भएको छ ।
पौडेलले भन्नुभयो, ‘मैले सरकार बजारमा हस्तक्षेप गरेर मुल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेको हो । खाद्य संस्थान र साल्ट ट्रेडिङमा नागरिकलाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको छ । सरकारले राज्यका सबै निकायलाई प्रयोग गरेर मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्छ ।’
नेता पौडेलले आज शनिबार वा आइतबारसम्म मन्त्रिपरिषद् बैठक बसेर पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउने बताउनु भयो । बैठकले जनताको भान्सा कसरी सस्तो बनाउने विषयमा छलफल भएको र सरकारले बजारमा हस्तक्षेप वा अनुगमन गरेर भए पनि मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ ।













प्रतिक्रिया दिनुहोस्