जनता टाइम्स

१२ असार २०७९, आईतवार १९:३६

उद्योगी–व्यवसायीबाट सरकारका गलत कदम र बजेटको आलोचना हुन सकेन : अध्यक्ष ओली


काठमाडौं, १२ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्योगी, व्यवसायीको ढाड सक्नेगरी सरकारले बजेट ल्याउँदा पनि नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका संगठनहरूले बजेटको आलोचना र विरोध गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ ।

पार्टीको उद्योग,बाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठक अघि सो विभागका प्रमुख लगायत सदस्यहरूलाई निर्देशनात्मक सम्वोधन गर्दै उद्योग, वाणिज्य क्षेत्रमा सरकारका गलत कदमको आलोचना गर्नुपर्ने बताउनुभयो ।
‘बजेटमा एकदम बेठिक ढंगका क्रियाकलाप भएका छन् भने ती कुराको उद्योगी–व्यवसायीको हकहितमा खुलेका संगठनले आलोचना गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसको आलोचना समूचित ढंगले गर्नुपर्ने थियो ।

तर, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत संगठनले आलोचना गरेको देखिएन,’ उहाँले भन्नुभयो, ‘त्यसैले हाम्रो पार्टीको उद्योग,बाणिज्य तथा आपूर्ति विभागले बजेट सिङ्गो उद्योग–व्यवसायको क्षेत्रलाई हेरेर बजेट ल्याइयो कि सिमित व्यापारीलाई हेरेर रु हामीले ती कमजोरीको आलोचना गर्नुपर्छ ।’ उहाँले आफ्नो हितमा आफूले नवोले अरु नबोल्ने भन्दै उद्योगी–व्यवसायीलाई बोल्न आग्रह गर्नुभयो ।

‘आफ्नो हितमा पनि आन्दोलनमा उत्रिन सकिँदैन भने अरु कस्ले बोलिदिन्छ ?,’ उहाँले भन्नुभयो, ‘पहिला आफूले बोल्नु पर्यो नि । त्यसकारण हामी आफू पनि बोल्नुपर्छ हाम्रो विभाग पनि बोल्नुपर्छ । मार्कामा परेका उद्योगी–व्यवसायीका पक्षमा बोल्नुपर्छ र उहाँहरुलाई बुझाउनु पनि पर्छ । उनीहरुलाई बोल्न तागत दिनुपर्छ ।’

उहाँले एक–दुई जना व्यापारी घरानीयालाई हेरेर ल्याएको बजेटले समग्र राष्ट्रिय उद्योग–व्यापारको हित गर्न नसक्ने पनि बताउनुभयो । उहाँले एमालेका सहि नीतिमा सहमत गराउँदै उद्योगी–व्यवसायीलाई आवद्ध गराउने कुरामा भूमिका खेल्नु पर्नेमा पनि जोड दिनुभयो । पार्टीको उद्योग,बाणिज्य तथा आपूर्तिका क्षेत्रमा फैलाइएका भ्रमलाई चिर्दै अघि बढ्न पनि उहाँले निर्देशन दिनुभयो ।

उहाँले आर्थिक क्षेत्रका लागि नीति बनाउँदा विभागले राम्रो गृहकार्य गरी सल्लाह सुझाव दिनुपर्ने हुँदा विभागको जिम्मेवारी महत्वपूर्ण रहने बताउनुभयो । ‘नेकपा (एमाले) ले लिने नीति भनेको राष्ट्रिय नीति हुनुपर्छ । हाम्रो नीति राष्ट्रिय नीति हुनुपर्छ र त्यसले राष्ट्रलाई नेतृत्व गर्नुपर्छ, सरकारलाई नेतृत्व गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘उद्योग होस वा बाणिज्य क्षेत्रमा जुनसुकै पार्टीको सरकार भए पनि हामीले अरुको भन्दा उन्नत, सही, उपयुक्त खालका नीतिहरु लागु गर्नुपर्छ ।’

उहाँले एमाले आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा रहेको भन्दै विभागलाई आयत निर्भर नभई निर्यात निर्भर अर्थतन्त्रका पक्षमा काम गर्न पनि सुझाव दिनुभयो । निजी क्षेत्रलाई अगाडि बढ्न प्रोत्साहन गर्ने नीतिसँगै सरकारी स्वामित्वमा रहेका उद्योग, कलकारखाना र आपूर्तिसँग सम्बन्धित संस्थाहरूको संरक्षण गर्नुपर्ने भनाइ राख्दै अध्यक्ष ओलीले तर सरकारले आयल निगमलाई टाट उल्टाएर पेट्रोलियम पदार्थ आपूर्तिको जिम्मा निजी क्षेत्रलाई दिने नीति ल्याएको र आफूले त्यसको संसदबाटै विरोध गरेको बताउनुभयो ।

बजेटमार्फत ल्याइएका बेठीक कुराहरूको केही उद्योगी, व्यवसायीले विरोध गरिरहेकोमा उहाँहरूलाई धन्यवाद दिँदै अध्यक्ष ओलीले भन्नुभयो,’ ‘त्यस्ता कुरामा विभागको पनि साथ सहयोग हुनुपर्छ, बोल्नुपर्छ । उहाँले भन्नुभयो ‘अनिवार्य उपभोगका बस्तुहरू र उत्पादन वृद्धिका लागि मात्र आयात गर्ने परिस्थिति सिर्जना हुनुपर्छ ।’

अध्यक्ष ओलीले इजरायलले कृषि उत्पादन निर्यात गरिरहेको प्रसंग जोड्दै हामीले पनि अर्गानिक कृषि उत्पादन निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सक्छौं भन्नुभयो । उहाँले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण र रोजगारी सिर्जना गर्ने नीति निर्माणमा उद्योगी व्यवसायीहरू सिर्जनशील र अन्वेषक बन्नुपर्ने वताउँदै सरकारले गर्ने गलत कामका लागि प्रतिक्रियात्मक पनि हुनुपर्छ भन्नुभयो ।

हामीले आयात प्रतिस्थापन र निर्यातमूलक उद्योग प्रबद्र्धनमा ध्यान दिनुपर्छ भन्दै अध्यक्ष ओलीले उद्योग सञ्चालन इजाजतपत्र प्राप्त गर्ने लगायतका उद्योगी व्यवसायीका विविध समस्या समाधानमा सहजीकरण र सरलीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । विभागको पहिलो बैठकलाई महासचिव शंकर पोखरेलले पनि सम्वोधन गर्नु भएको थियो । विभागका प्रमुख पार्टीका केन्द्रीय सदस्य मोती दुगडको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।