जनता टाइम्स

१४ असार २०७९, मंगलवार १८:१३

दुई दिन नउठने भयो काठमाडौंको फोहोर, यस्तो छ कारण


काठमाडौं, असार १४ । काठमाडौं उपत्यकामा दुई दिन फोहोर नउठने भएको छ । नुवाकोटको सिसडोलमा सडक वर्षाका कारण अवरुद्ध भएपछि फोहोर नउठने भएको हो ।

भारी वर्षाका कारण सिसडोलमा बनेको फोहोरको पहाडबाट लेदोसहितको फोहोर खसेपछि सडक अवरुद्ध भएको हो । उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन हुँदै आएको छ । सिसडोलबाट दुई किलोमिटर टाढा बञ्चरेडाँडा अवस्थित छ ।

काठमाडौं महानगरपालिकाको वातावरण विभागले सिसडोलको ६० देखि ७० मिटर सडकखण्ड जोखिमयुक्त भएकाले वैकल्पिक बाटो बनाउनुपर्ने भएकाले दुई दिन फोहोर नउठ्ने भएको हो । बाटो मर्मत गर्नुपर्ने भएकाले मंगलबार र बुधबार उपत्यकाबाट फोहोर बोक्‍ने गाडीलाई नपठाइएको हो । बन्चरे डाँडामा दैनिक २ सय गाडी फोहोर विसर्जन हुँदै आएको छ । वर्षायाममा मुस्किलले सय वटा गाडीले फोहोर विसर्जन गर्ने गर्छन् ।

सिसडोलको सडकमा तीन वर्षअघि फोहोरको पहिरो गएपछि त्यहीमाथि सडक बनाइएको थियो । ग्राभेल हालेर मर्मत गरिए पनि वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । वर्षायाममा सिसडोलमा विसर्जन गरिएको फोहोर कुहिने र त्यही कुहिएको फोहोर लेदोको रुपमा खस्दा सडक अवरुद्ध हुने गरेको छ । कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहोर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ ।

महानगरको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहोरका गाडी जान सकेका छैनन् ।

महानगरका इन्जिनियर सरकारदीप श्रेष्ठले सिसडोलमा बाटो फराकिलो बनाउने काम भइरहेको जानकारी दिनुभयो । यस्तै, बन्चरे डाँडा जानका लागि वैकल्पिक बाटो पनि बनिरहेको श्रेष्ठले जानकारी दिनुभयो । महानगरले यो दुई दिन सडकका फोहोर टेकु ट्रान्सफर स्टेसनमा ल्याउँदै सकेसम्म सडकलाई फोहोररहित बनाउने जनाएको छ ।

गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा उपत्यकाको १८ स्थानीय तहको फोहर ४६ दिनसम्म व्यवस्थापन भएको थिएन । सरकार र काडमाडौं महानगरपालिकाले स्थानीयसँग सहमति गरेपछि फोहर व्यवस्थापनको काम नियमित भएको थियो । फोहोर व्यवस्थापन नियमित भएपनि ल्यान्डफिल साइट जाने सडकमा खाल्डाखुल्डी धेरै हुँदा सडक अवरुद्ध हुने गर्छ ।

महानगरपालिकाले साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न सार्वजनिक सूचना निकालेको छ । फोहोर वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । फोहोर संकलनका क्रममा वर्गीकरण नगरे जरिवानासमेत गर्ने जनाएको छ ।