बारा, असार १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताउनु भएको छ । निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलुको निरीक्षणमा सत्ता साझेदार दलका अध्यक्षसहित आउनु भएका प्रधानमन्त्री देउवाले सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको भन्दै सो जानकारी दिनुभएको हो ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘दुइटा रनवेसहित विमानस्थल बनाउँछौं । त्यसका लागि विज्ञसँग छलफल गरिरहेका छौं । कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं ।’
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट विमानस्थल निर्माणमा कुनै रोकावट गर्ने आदेश नआएको बताउनु भयो । ‘अदालतबाट विमानस्थल अवरुद्ध गर्ने कुनै आदेश छैन । विमानस्थल बन्छ । निजगढ एयरपोर्ट राष्ट्रिय गौरवको एउटा ड्रिम प्रोजेक्ट पनि हो,’ उहााल्े भन्नुभयो । काठमाडौं–निजगढ फास्टट्य्राकको डीपीआरमै पनि निजगढ विमानस्थलको आवश्यकतालाई मध्यनजर गरेर तयार पारिएको उहाँको भनाई छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि निजगढमा विमानस्थल बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालले विमानस्थल बनाउन अदालतबाट पनि बाटो खुलेको पनि बताउनु भयो । ‘अदालतबाट यसको बाटो खुला भएको छ । प्राकृतिक स्रोत साधनको कम क्षतिसहित विमानस्थल बनाउनुपर्छ,’ नेपालले भन्नुभयो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भविष्यलाई समेत हेरेर आयोजना निर्माण गरिनुपर्ने बताउनु भयो । निजगढमा रहेका पुराना बस्तीलाई जोगाएर आयोजना अगाडि बढाउनुपर्नेमा र आयोजना निर्माणमा सबैले सहयोग गर्नुपर्ने यादवको भनाई छ ।

भ्रमण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव र खानेपानी मन्त्री उमाकान्त चौधरी पनि हुनुहुन्छ । शीर्ष नेताहरूलाई विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादवले ब्रिफिङ गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्