जनता टाइम्स

२१ असार २०७९, मंगलवार ०८:०९

काँग्रेसबाट अध्यक्ष निर्वाचित रीता शाहीको उर्दी-मेरा श्रीमान्‌ले रकम नपाउन्जेल सबै भुक्तानी रोक्नू


दैलेख, २१ असार । स्थानीय तहका जनप्रतिनिधिले आफन्तहरुका लागि के सम्म गर्न पछि पर्दैनन् भन्ने एक ज्वलन्त उदाहरण दैलेखको भैरवी गाउँपालिकामा देखिएको छ। गाउँपालिकाका अध्यक्ष रीता शाहीले आफ्ना श्रीमान्‌ले गरेको कामको भुक्तानी नपाएसम्म गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विश्वकर्मालाई अन्य भुक्तानी नदिन भन्दै गाउँपालिकामा हाजिर नगर्न समेत भन्नुभएको छ ।

आफ्नो श्रीमान्‌ले निर्माण गरेको भवनको भुक्तानीका लागि गाउँपालिका अध्यक्ष शाहीले विवाद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँले भवन निर्माण प्रक्रिया कागजी रूपमा गलत देखिएकाले भुक्तानी दिन नमिल्ने बताउनुभयो ।

‘भवन निर्माण कार्य भुक्तानी प्रक्रिया बारे बुझ्दा दिन नमिल्ने कुरा अध्यक्षलाई भन्नुभयो उहाँले आफ्नो श्रीमानको पैसा भुक्तानी नदिए आफूलाई भोलिबाट गाउँपालिकामा हाजिर नगर्न र लेखालाई चेक नकाट्न भन्नुभएको छ’, प्रशासकीय अधिकृत विकले भन्नुभयो ।

गाउँपालिका अध्यक्षले आफ्नो पैसा भुक्तानी नभएसम्म अन्य चेक काट्न नपाइने भनेपछि असारको मुखैमा गाउँपालिकाबाट जनताले पाउने सेवा पूर्णरूपमा ठप्प भएको प्रशासकीय अधिकृत विकले बताउनुभयो । यता, गाउँपालिकाका अध्यक्ष रीता शाहीले आफ्नो श्रीमानको समस्या भन्दा आम मजदूरको विषयमा आवाज उठाएको बताउनुभयो ।

भुक्तानी माग्दा प्रशासकीय अधिकृतले दिने नमिल्ने भनेको तर नखुलाएको अध्यक्ष शाहीको भनाई छ। गाउँपालिका इन्जिनियर विकास विष्टले कागजी रूपमा भवन निर्माण प्रक्रिया गलत देखिएको दावी गर्नुभयो । उहाँले उक्त भवन निर्माणको काम एक वर्षमा सकाउनु पर्ने भए पनि पटक–पटक गरेर तीन पटक म्याद थपिएको बताउनुभयो ।

गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि आर्थिक वर्ष ०७५/७६ मा ८८ लाख लागतमा प्रिफ्याब भवन निर्माणको जिम्मा गाउँपालिका अध्यक्षका श्रीमान् बखत बहादुर शाहीको मालिका निर्माण सेवाले पाएको थियो। ८८ लाखको लागतमा निर्माण कार्य सुरु गरिएको प्रिफ्याब भवनको १५ लाख भुक्तानी यस अघि नै निर्माण कम्पनीले लिई सकेको इन्जिनियर विष्टले बताउनुभयो ।