जनता टाइम्स

२२ असार २०७९, बुधबार ०८:४४

काँग्रेसले भन्यो–आजै संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं


काठमाडौं, , २२ असार । सत्तारूढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउनुभएको छ । अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासो देखिएको भन्दै खड्काले संसदीय छानबिन समिति बनाउन ढिला नगर्न आग्रह गर्नुभएको छ ।

आजै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभएको हो । ‘बजेट निर्माणका बेलाका विषयसमेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ,’ खड्काले भन्नुभयो ।

यस्ता विषय उठ्दा विगतमा पनि संसदीय छानबिन गर्ने परम्परा रहेको खड्काले बताउनुभयो। ‘बरू ढिला नगरौं, संसदबाट आजै संसदीय छानबिन समिति निर्माणको टुंगो लगाऔं,’ उहाँले भन्नुभयो । अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिहरू प्रवेश गराई बजेटमा करका दर हेरफेर गरेको आरोप छ।

यसअघि कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको थियो । अर्थमन्त्रीले राजीनामा स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले अर्थमन्त्रीबाट हटाउनुपर्ने थापाको भनाइ थियो।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अर्थमन्त्रीबारे संसदीय छानबिन समिति गठन गरेर छानबिन गरिनुपर्ने माग गर्दै आएको छ।