जनता टाइम्स

२७ असार २०७९, सोमबार १०:०८

मूल्यवृद्धि अनुमानभन्दा माथि गयो, नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्छ : गभर्नर अधिकारी


काठमाडौं, असार २७ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि लक्ष्यभन्दा माथि हुने भन्दै ब्याजदर बढाउनु पर्ने प्रस्ताव गर्नुभएको छ ।

चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएको भन्दै गभर्नर अधिकारीले यस्तो प्रस्ताव राख्नुभएको हो । प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा उहाँले मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने बताउनु भयो ।

‘विकसित मुलुकहरूमा न्यून मुद्रास्फीति हुने गरेकोमा २०२२ मा बढेर ५.७ प्रतिशत पुग्ने अनुमान छ । २००८/०९ को मन्दीमा पनि नभोगेको मूल्य वृद्धि विश्व अर्थतन्त्रले भोगेको छ, चालु आर्थिक वर्षमा मूल्यवृद्धि सीमाभित्र राख्न कठिन छ । आगामी दिनमा पनि कठिन देखिन्छ,’ गभर्नर अधिकारीले भन्नुभयो, ‘मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने तथा कोभिडको समयमा दिएका सहुलित हटाउँदै लैजाने नीति ठूला र विकसित अर्थतन्त्र भएका मुलुकको छ । हामीले पनि त्यसमा ध्यान दिनुपर्ने देखिन्छ ।’

प्रोत्साहन प्याकेज ल्याएका विश्वको अन्य केन्द्रीय बैंकले हटाउँदै लगेको उहाँले बताउनु भयो । ‘हामीलगायत धेरै मुलुकमा परेको ठूला समस्या बाह्य क्षेत्रको दबाब नै हो,’ गभर्नर अधिकारीले भन्नुभयो,’ चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ४७ करोड डलरले विदेशी मुद्रा सञ्चिती घटेको छ । ६ महिनाभन्दा बढीको आयात धान्न सकिन्छ । जुन नराम्रो हैन तर जुन रूपमा घट्यो यसरी घट्दा जोखिम हुन्छ कि !’

अहिले नेपाली मुद्रा ७ प्रतिशतको अवमूल्यन भएको बताउँदै उहाँले आयात बढ्नुमा केही अंश परिमाणको कारण भए पनि मुख्य मूल्यवृद्धि रहेको बताउनु भयो । यस्तै रेमिट्यान्स पछिल्लो महिनामा सुधार हुँदा नेपाली र अमेरिकी डलर दुवैमा गत आर्थिक वर्षकोभन्दा बढी हुने देखिने उहाँले बताउनु भयो ।

तरलता व्यवस्थापन गर्न तीन खर्बभन्दा बढी अहिले पनि राष्ट्र बैंकले बजारमा पैसा पठाएको बताउँदै उहाँले कोभिडको बीचमा दिएका सुविधा जे जति थिए अहिले कोभिडबाट बाहिर आएर अर्को समस्यामा आएकोले यसलाई बाहिर ल्याउने गरी मौद्रिक नीति आउने जानकारी दिनुभयो ।