जनता टाइम्स

२९ असार २०७९, बुधबार १३:३९

जनार्दनको अर्काे कर्तुत बाहिरियो : राजीनामापछि मन्त्रालय पुगेर गरे हतियार खरिदको रकमान्तर


काठमाडौं, असार २९ । बजेट निर्माणमा बिदेसी नागरिकसहितका बिचौलिया प्रवेश गराएको तथ्य भेटिएपछि राजीनामा दिन बाध्य हुनुभएका तात्कालिन अर्थमन्त्री जनार्दन शर्माको अर्काे कर्तुत बाहिर आएको छ ।

शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालय फर्किएर नेपाल प्रहरीलाई हतियार खरिदको रकमान्तर गरेको तथ्य बाहिर आएको हो । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले संसदको विशेष छानबिनमा परेका तत्कालीन अर्थमन्त्री शर्माले संसदमा राजीनामा घोषणा गरेर मन्त्रालय फर्किएपछि हतियार खरिदका लागि ८४ करोड रूपैयाँ रकमान्तर गरेको पोल खोलेका हुन । एमाले सांसदहरुले सो काण्डमा प्रधानमन्त्री शेरबहादुर देउवाको समेत संलग्नता रहेको आशंका गरेका छन ।

संसदको आजको बैठकको सुरूमै सभामुखसँग समय लिएर बोल्दै पूर्वगृहमन्त्रीसमेत रहनुभएका सांसद खगराज अधिकारीले प्रहरी वा सुरक्षा निकायको कुनै पनि निकायले नमागेका घातक हतियार खरिदका लागि बजेट रकमान्तर गरिएको भन्दै संसदमा सरकारले स्पष्टीकरण दिनुपर्ने माग गर्नुभयो ।

अधिकारीले राजीनामा दिएर गएर हतियार खरिदका लागि रकमान्तर गरिएको भन्दै यसमा प्रधानमन्त्रीले आदेश दिएको हो कि होइन ? भन्ने प्रश्न पनि गर्नुभयो । इटलीको बदनाम कम्पनीको हतियार खरिद गर्नका लागि भइरहेको प्रपञ्च करोडौं कमिसनका खेल भएको पनि उहाँको निश्कर्ष छ ।

अधिकारीले कमिसनका लागि हतियार खरिदको चलखेल भएको समाचार आएपछि प्रहरीलाई प्रधान कार्यालयलाई दबाब दिएर वक्तव्य निकाल्न लगाइएको तथ्य पनि खोल्नुभयो । सरकारले कमिशनकै लागि मुलुकमा बिदेसी मुद्राको संचिती कम भएको बेला अर्वौंको हतियार खरिद प्रक्रिया अघि बढाएको छ । यो काम प्रधानमन्त्री रु मन्त्रीहरुले कमिशनकै लागि अघि बढाएको तथ्यहरु बिस्तारै खुल्न थालेका छन ।