काठमाडौं, साउन २ । नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको एक वर्षमा मुलुकमा कुशासनले सीमा नाघेको र राज्य बिचौलियाको कब्जामा गएको भन्दै मूल्यवृद्धिको ग्राफ नै सार्वजनिक गरेको छ ।
एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज देउवा सरकारको बदमासीका कारण मूल्यबृद्धि भएको ठहरसहित ग्राफ सार्वजनिक गरेको हो । बिभागले आयोजना गरेको अन्तरक्रियामा एमालेले सरकार छाडेको एक वर्षमा उपभोग्य वस्तुको मूल्य शत प्रतिशतसम्म वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको हो ।
विभागका प्रमुख यज्ञराज सुनुवारले सुशासनका दृष्टिले बितेको एक वर्ष भ्रष्टाचार र राज्यको बिचौलियाकरणमा परिणत भएको र दैनिक उपभोग्य वस्तुको मूल्य कहालीलाग्दो ढंगले वृद्धि भएको बताउनु भयो । उहाँले अब एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले नियमित अनुगमन गरेर सत्यतथ्य सार्वजनिक गर्ने तथा सडक र संसदबाट भण्डाफोर गर्ने जानकारी पनि दिनुभयो ।
एमालेले सार्वजनिक गरेको तथ्यांकअनुसार दैनिक उपभोग्य वस्तुका साथै निर्माण सामग्री र इन्धनमा मूल्यवृद्धि गर्दा निश्चित व्यापारीलाई पहिले नै जानकारी दिएर स्टक गर्न लगाइएकोसमेत पाइएको छ । यस्तै सरकारमा बसेका व्यक्तिहरु नै कालोबजारीमा संलग्न रहेको पनि एमालेले जनाएको छ ।
कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिका नाममा अहिले देशमा वित्तीय गठबन्धन र बिचौलियाको राज चलेको दृष्टान्त राख्नुभयो । एमालेले गठबन्धन सरकार आएपछि सार्वजनिक यातायातमा २८ प्रतिशत र ढुवानी भाडामा २६ प्रतिशत मूल्यवृद्धि गरिएको जनाएको छ ।
त्यस्तै बिचौलियाको प्रभावमा परेर दूधमा एकैपटक १४ रुपैयाँसम्म वृद्धि गरिएको र दही, घ्यू जस्ता पदार्थमा समेत १२ प्रतिशत मूल्यवृद्धि गरिएको एमालेको भनाई छ ।यस्तै खाने तेलमा एकैपटक ११० रुपैयाँसम्म मूल्यवृद्धि गर्दा व्यापारीसँग सेटिङ मिलाइएको र दाल, चामल, चिनी जस्ता दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिमा समेत बिचौलियासँग सेटिङ गरिएको खुलासा पनि गरिएको छ ।
अन्तरक्रियामा विभागद्वारा तयार पारिएको २०७८ असार मसान्त र २०७९ असार मसान्तको मूल्यवृद्धिको तुलनात्मक विवरण प्रस्तुत गरिएको थियो । विभागका प्रमुख तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारको अध्यक्षतामा भएको अन्तरक्रियामा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक विशाल भट्टराई उपस्थित हुनुहुन्थ्यो ।


अन्तरक्रियामा विभाग र उपभोक्ता हित संरक्षणसँग सम्वद्ध संस्थाहरूका तर्फबाट कुमारी खरेल र विमला खनालले महङ्गीको तथ्यगत विवरण राख्नुभएको थियो । मूल्यवृद्धि ८.५ प्रतिशत भएको भनिए पनि खाद्यान्नमा ४० प्रतिशत, पेट्रोलमा ४२ प्रतिशत, खानेतेलमा ३३ प्रतिशत र अन्य धेरै उपभोग्य वस्तुको मूल्य २५ प्रतिशतको हाराहारीमा बृद्धि भएको उल्लेख गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्