जनता टाइम्स

३ श्रावण २०७९, मंगलवार ०७:३४

वाह ! परम्परागत घारको मौरीबाट वार्षिक एक लाख बढी कमाई


दिलमाया शाही/जुम्ला । कनका सुन्दरी गाउँपालिका २ मालिका बोताका स्थानीय धेरैको घरमा मौरीका घार छन् । मौरी पालनको लागि उनीहरुले तालिम पाएका होइनन ।

त्यहाँ उनीहरुले परम्परागत रुपमा मौरी पालेका छन् । मालिका बोताको रोथका अधिकांश घरमा १२ देखि २५ सम्म मौरीका घार राखेको देखिन्छ । मालिका बोता गाउँकी गउकली रावतका घरमा पालेको मौरीको महबाट वर्षेनी एक लाख आम्दानी हुने गरेको छ । ‘एक किलोको ३ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । घरमा १० वटा मौरीका घार छन्’ उहाँले भन्नुभयो, ‘रोथ हाम्रो लेखाली घर हुन् । यहाँ आलु, सिमी गँहु, मकै लगायतको अरु उत्पादन पनि हुन्छ ।’

त्यस्तै सोही ठाउँका बिष्णुखर रावतका घरमा पनि मौरीका ११ घार छन् । उहाँ भन्नुहुन्छ, ‘म १२ वर्षको हुँदा आमाले मह काढेको देख्थे, पछि मौरीपालन गर्ने इच्छा जाग्यो ।’ मौरीको घर र मह अहिले उहाँ आफैं व्यवस्थापन गर्नुहुन्छ ।

आमाले मह काढेको देखेपछि त्यसलाई सिको गर्दै मौरी पालनतर्फ आर्कषित भएका उहाँ अहिले सफल हुनुभएको छ । ११ घार मौरी पाल्नुभएको उहाँ मह बेचेर वार्षिक एक लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । उहाँको लेखमा रहेको घरको आसपासमा खोपिल्टा, चर्पीको छानामाथि, आँगन जतातत्तै मौरीका घार छन् । रावत भन्नुहुन्छ, ‘अहिलेसम्म मौरी पालनका लागी कुनै तालिम लिएको छैन ।’

आधुनिक रुपमा मौरी पालनको लागि तालिम पाएको खण्डमा आफूहरुलाई सहज हुने उहाँ बताउनु हुन्छ । परम्परागत घारमै बसेका मौरी पालिरहेको उहाँले बताउनु भयो । स्थानीय परम्परागत घार गोलो आकारको काठको मुढालाई खोपेर बनाइन्छ । मुढालाई खोपेर तयार पारिएको ढ्वांगको दुवैतर्फ प्वालको दुईतर्फ काठको टुक्राले छोपिन्छ । घारको कुनै भागमा मौरीलाई आवात जावत गर्न प्वाल पारिन्छ । त्यस्तै मालिकाबोताकी सुकिली रावत स्थानीय बजारमा महको माग अत्यधिक रहेको बताउनु हुन्छ ।

मह काढ्न नपाउँदै खरिदका लागि उपभोत्ता घरैमा आउँछन् । उहाँका अनुसार मह प्रतिकिलो ३ हजारका दरले घरमै बिक्री हुन्छ । ‘अहिले बजारको माग धान्नै गाह्रो छु, उहाँले भन्नुभयो, ‘मह खरिदका लागि घरमा आएका कतिपय नपाएर रित्तै फर्किंन्छन् ।’

घारको मौरी छुट्टिन लागेको मेसो पाउने वित्तिकै उनीहरु घारको ढोका खोलिदिन्छन् । माटोको छर्राले हानेर कुनै ठाउँमा गोला परेको अवस्थामा घारमा ल्याएर सार्छन् । मौरीको घार बनाउन सबैभन्दा उपयुक्त उत्तिस, मौवा, ढाल्ने, र पात्लेको काठ हो । ‘वर्षको दुई पटक मह काढ्दा एउटा घारबाट २० किलोसम्म मह हुन्छु उहाँले भन्नुभयो, ‘मैले मौरीलाई भन्दा पनि मौरीले मेरो परिवारलाई पालिरहेको छ ।’
थोरै मेहनतबाट मनग्य आम्दानी हुने भएकाले मौरी पालनतर्फ आर्कषित भएको उहाँको भनाइ छ। (न्यूज कारखाना)