जनता टाइम्स

५ श्रावण २०७९, बिहीबार १३:५०

जनार्दनसँग लिइयो ३ घण्टा लामो बयान, यस्तो छ सवाल–जवाफ


काठमाडौं, साउन ५ । तात्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणमा भएको बदमासीबारे संसदीय बिशेष छानविन समितिले तीन घण्टा लामो बयान लिएको छ । शर्मालाई आज बोलाएर समितिले लामो बयान लिएको हो ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुको संलग्नताको विषयमा छानिवनका लागि तत्कालिन अर्थमन्त्री शर्मासँग अनेकन कोनबाट बयान लिइएको छ । शर्माले पत्रकारहरुसँग बयानका बारेमा कुनै प्रतिक्रिया दिनुभएन । उहाँले आफूले समितिलाई बयान दिएकोले बाँकी कुरा उहाँहरुबाट बुझ्नु भन्दै बाहिरिनु भयो ।

शर्माले भारतीय नागरिकसमेतलाई मन्त्रालयमा मध्यराती बोलाएर करको दर हेरफेर गराएको तथ्य बाहिर आएपछि राजीनामा दिनुभएको थियो । ब्यापारिक घरानाको मान्छेलाई प्रवेश गराएको भन्दै संसदमा तिव्र विरोध भएको थियो । बिरोधपछि शर्माले असार २२ गते राजिनामा दिनु भएको हो । अनाधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानविन गर्न ११ जना साँसदहरु रहेको संसदीय बिशेष समिति गठन भएको छ ।
समितिले आज शर्मासँग बयान लिएको हो । बयानको क्रममा अनाधिकृत ब्यक्तिको प्रवेश गराउनेदेखि सिसीटीभी फुटेज डिलिट गराउनेसम्मको अभियोगमा प्रश्न सोधिएको थियो ।

समितिका एक सदस्यले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार बयानका क्रममा निकै सवाल जवाफ चलेको थियो । त्यसक्रममा शर्मासँग ‘ सिसीटिभी फुटेज प्रकरणले आरोप प्रमाणित हुने देखिन्छ नि ?’ भन्ने प्रश्न सोधिएको थियो भने शर्माले ‘के आधारमा ? कसरी’ भन्दै इन्कारी जवाफ दिनुभएको छ । शर्माले बजेट निर्माणको राती अर्थ मन्त्रालयमा कोही पनि अनाधिकृत मानिस प्रवेश नगरेको पटक पटक जिकिर गर्नुभएको छ ।