जनता टाइम्स

१० श्रावण २०७९, मंगलवार ०८:३७

बाँकेको कोहलपुरमा एक दम्पती मृत भेटिए, हत्याको आशंका


काठमाडौं, १० बाँके । बाँकेको कोहलपुरमा एक दम्पती घरमै मृत फेला परेका छन्। कोहलपुर नगरपालिका १४ पार्वतीपुरमा २२ वर्षीय कृष्ण गडरिया र उनकी २० वर्षीया श्रीमती अञ्जली गडरिया आज विहान मृत भेटिएका हुन्। राति नै घटना भएको भए पनि घरको तल्लो तलामा उनीहरुमात्रै सुत्ने भएकाले स्थानीयले शव देखेर विहान प्रहरीलाई खबर गरेका थिए।

दुवै जनाको शव घरको कोठा बाहिर भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिनुभयो । उनीहरुको एक वर्षअघि विवाह भएको थियो। डिएसपी मल्लका अनुसार उनीहरुको शरीरमा चोट देखिएकाले हत्या भएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपी अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए। शव पोष्टमार्टमका लागि पठाएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।