काठमाडौं, साउन १२ । नेपाल टेलिभिजनको स्याटेलाइन छनोटमा ठूलो आर्थिक चलखेल भएको तथ्य बाहिर आएको छ । टेलिभिजनकै बिरष्ठ अधिकारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्याटेलाइट छनोटका लागि आधिकारिक रुपमा बोलपत्र हुनुअगावै बोलपत्र सम्बन्धी कागजात विभिन्न कम्पनीमा पठाउने र ठूलो आर्थिक लाभ लिने काम भएको भन्दै उजुरी गरेपछि यो तथ्य बाहिर आएको हो ।
हेर्नाेस प्रमाण
अख्तियारमा दिइएको उजुरीमा भनिएको छ, ‘स्याटेलाइट सेवालाई कायम राख्न हाल बोलपत्रको प्रक्रिया अघि बढिरहेको छ तर सार्वजनिक लेखा समिति राष्ट्रिय सतर्कता केन्द्र आदि निकायबाट दिएको निर्देशन पालना गरी बोलपत्रमा समावेश गर्नुपर्नेमा व्यापक रुपमा वेवास्ता गरी आफ्नै सेटिङको स्याटेलाइटलाई मात्र मिल्नेगरी अधिकांश बुदाहरु समावेश गरी बोलपत्र प्रक्रिया अघि बढाइएको छ ।’
यस्तो छ उजुरीको पूर्णपाठ
राज्यको सम्पूर्ण लगानीमा सञ्चालित तथा विश्वव्यापी पहुँच पुर्याई संसारभरिका नेपाली तथा गैर नेपाली सबै समुदाय समक्ष प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा नेपाल र नेपालीलाई सबैको सामु चिनाई नेपालको भूमिकालाई बलियो बनाउने दायित्व बोकेको नेपाल टेलिभिजन अहिले ठीक उल्टो दिशातिर गइरहेको छ । भ्रष्टाचारमा निर्लिप्त हालको व्यवस्थापन र भ्रष्ट कर्मचारीको गिरोहले नेपाल टेलिभिजनको साखलाई पूरै धूमिल पारी यसलाई विघटन गर्ने खेलमा लागेका छन । विश्वव्यापी पहुँच पुर्याई नेपालको छवि उच्च राख्ने क्रियाकलापमा लाग्नुपर्ने टेलिभिजन भ्रष्ट्राचारको अखडा भएको छ । श्रीमानको जानकारीको लागि हाल भइरहेको टेन्डर अनियमिता सम्बन्धी निम्न तथ्यहरु पेश गरिएको छ र नेपाल टेलिभिजनलाई जोगाइ थप प्रभावकारी बनाउन र यसको भूमिकालाई विश्वव्यापी बनाउन आवश्यक हस्तक्षेप र निर्देशनको लागि श्रीमान समक्ष अनुरोध छ।
नेपाल टेलिभिजनको प्रसारणलाई संसारभर पुर्याउने एकमात्र माध्यम स्याटेलाइट नै हो। हाल विश्वका १४० भन्दा बढी देशमा यसको पहुँच पुगेको छ। यसलाई थप विस्तार गरी पुरै विश्वभर आउनेगरी पहुँच पुर्याउन जरुरी छ । तर विगत केही समय पहिले नेपाल टेलिभिजनले गरेको बोलपत्रमा भ्रष्ट तथ्यहरूको आर्थिक फाइदालाई संरक्षण गर्न र अनुचित आर्थिक लाभ लिन हाल कायम रहेको प्रसारण क्षेत्रलाई खुम्च्याएर निकै कम देशमा मात्र प्रसारण पुग्ने गरी सेटिङ मिलाइयो।
हाल १४० देशमा पुगिरहेको सेटेलाइटको पहुँचलाई आधाभन्दा पनि कम मुलुकमा आउने सेटलाइट भए पुग्ने गरी निश्चित सेटेलाइटलाई टार्गेट गरी सेटिङ गरेपछि कर्मचारी तथा अन्य सबै वर्गबाट व्यापक विरोध र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, राष्ट्रिय सतर्कता केन्द्र तथा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा समेत उजुरी पर्यो।
सवै निकायहरुले आवश्यक छानबिन र अनुसन्धान गरेपछि बोलपत्रमा व्यापक त्रुटि देखियो र सार्वजनिक लेखा समितिले समेत नेपाल टेलिभिजनले प्रयोग गर्ने सेटेलाइटको पहुँच हालको भन्दा कम भएमा हाल प्रसारण हेरिरहेका दर्शकहरु वञ्चित हुने भएकोले यसको पहुँच हाल प्रसारण पुगिरहेको सबै देशहरुमा पुग्ने गरी व्यवस्था गर्न निर्देशन दियो र पछि पुनः कम्तिमा ४२ प्रतिशतमा पुग्ने र नेपालीहरुको बसोबास गर्ने क्षेत्र सुनिश्चित हुनेगरी बोलपत्र आह्वान गर्न निर्देशन दिइयो। छानबिन गरिरहेका अन्य निकायले समेत बोलपत्रमा व्यापक त्रुटीदेखि यसलाई सच्याउन विभिन्न निर्देशन गरियो। यसमा संलग्न कर्मचारीहरुलाई कारबाहीको सिफारिस समेत गरियो।
बोलपत्रमार्फत आफूले रोजेका सेटेलाइट नआउने देखेपछि बोलपत्रका शर्तहरू सच्याउनुको सट्टा बोलपत्र नै रद्द गरियो। बोलपत्र माथि छानविन हुँदा यसमा विभिन्न बुँदाहरू तोडमोड गरिएको र सम्बन्धित कम्पनीहरु सँगै अवैध सम्पर्क कायम गरिएको देखिएकोले यसमा संलग्न कर्मचारीहरुलाई कारबाही गर्न स्पष्ट निर्देशन सम्बन्धित निकायहरुले दिदा पनि कारबाही गर्नुको सट्टा उल्टै तिनै कर्मचारी राखेर यस सम्बन्धी कारबाही अगाडि बढाई अझै पनि यस विषयमा पहिलेभन्दा पनि व्यापक चलखेल गरिरहेका छन।
(सार्वजनिक लेखा समिति, राष्टिय सतर्कता केन्द्र र सञ्चार मन्त्रालयको निर्देशन संलग्न छ।)
बोलपत्र रद्द भएपछि हालको सेटेलाइटलाई बिस्थापित गरी सिधै आफुले लिन चाहेको Asiasat satellite लाई लिन अनेक कोशिस गरियो। जसको पहुँच ७० वटा देशमा पनि पुग्दैन जुन हालको पहुँच भन्दा आधाभन्दा पनि कम हो। १४० देशबाट घटाएर आधा पहुँच मात्र पुग्ने Asiasat संगै सेटिङ गरेर कम मूल्यको सेटेलाइट ल्याउन लाग्दै छौँ अहिलेको महँगो भयो भन्ने भ्रम सिर्जना गरियो। यत्रो पहुँच घटाएर लिन लागेको स्याटेलाइटको मुल्य अथवा ७० देशभन्दा कममा पहुँच भएको हुने कमसल सेटेलाइटको मुल्य १४० भन्दा बढी आउने स्याटेलाइटको मूल्य भन्दा कम हुने स्वाभाविक नै हो तर यसको वास्तविक मूल्यभन्दा धेरै तिरेर ल्याउन भित्र्याउने र व्यापक आर्थिक लाभ लिने प्रपञ्च रचियो र नेपाल टेलिभिजन हेरिरहेका असंख्य दर्शकहरुलाई वेवास्था गरियो।
बोलपत्र रद्द भएपछि र आफ्नो सेटिङको Asiasatलाई भित्राउन नसकेपछि प्रसारण blackout हुने स्थिती आयो र अहिलेको सेटलाइट लाई नै निरन्तरता दिनुपर्ने भयो। यसलाई विस्थापित गर्ने अनेक प्रपञ्च असफल भयो र निरन्तर नयाँ नयाँ बहानाहरु खोजियो हालको स्याटेलाइटले सहुलियत स्वरुप निकै कम मूल्यमा भाडा दर कायम गरेर नेपाल टेलिभिजनलाई निरन्तरता दिने प्रस्ताव गर्यो र हाल Apstar satellite ले सेवा दिइरहेको र विश्वका १४० देशमा पहुँच पुगिरहेको स्थिति छ ।
स्याटेलाइट सेवालाई कायम राख्न हाल बोलपत्रको प्रक्रिया अघि बढिरहेको छ तर सार्वजनिक लेखा समिति राष्ट्रिय सतर्कता केन्द्र आदि निकायबाट दिएको निर्देशन पालना गरी बोलपत्रमा समावेश गर्नुपर्नेमा व्यापक रुपमा वेवास्ता गरी आफ्नै सेटिङको स्याटेलाइटलाई मात्र मिल्नेगरी अधिकांश बुदाहरु समावेश गरी बोलपत्र प्रक्रिया अघि बढाइएको छ। कम्तीमा पनि ४२ प्रतिशत भागमा प्रसारण पुग्नैपर्ने, नेपालीहरुको बस्ने क्षेत्रमा प्रसारण पुग्ने सुनिश्चित गर्ने, contour map लाई छनौटको आधार बनाउनुपर्ने र contour map समावेश गरी बोलपत्र गर्नुपर्ने निर्देशन भएकोमा यसलाई पूरै वेवास्ता गरी स्पष्टरुपमा उपरोक्त बुदाहरु समावेश नगरी आफ्नै सेटिङका सेटलाइटलाई मात्र फाइदा पुग्ने गरी बोलपत्र सम्बन्धी कागजात अगाडि बढाइएको छ । त्यसैले यो बोलपत्र निश्चित गिरोहहरुलाई आर्थिक लाभ पुग्ने गरी बनाइएको छ र नेपाल टेलिभिजनको हित विपरीत छ। यसैले श्रीमानबाट आवश्यक हस्तक्षेप गरी यो टेन्डर लाई तुरुन्त रद्द गरियोस र नेपाल टेलिभिजनको व्यापक क्षति हुनबाट बचाइयोस् भनि विनम्र अनुरोध गर्दछौं।
.हाल सेटेलाइटको प्रसारण पुगिरहेको १४० वटाभन्दा बढी देशको भूभागलाई खुम्च्याएर र केवल करिब १५ देशमा आए पुग्नेगरी देशहरूको नाम र क्षेत्र तोकी बोलपत्र गरिएको छ। युरोप,अफ्रिका, एशिया, तथा अस्ट्रेलिया सम्मको भूभाग समेटी रहेको हालको प्रसारणलाई खुम्चयाइ एसियाको केही क्षेत्रमा मात्र आए पुग्ने गरी उक्त भ्रष्ट गिरोहले रोजेको सामान्य र सानो क्षेत्रमा मात्र प्रसारण पुगे पनि हुने गरी व्यापक setting गरी ठुलो आर्थिक लाभ लिई नेपाल टेलीभिजन का विश्वव्यापी व्यापक दर्शकहरु कटौती हुनेगरी र नेपाल टेलिभिजनलाई ठूलो नोक्सानी हुने गरी बोलपत्र अगाडि बढाइएको छ, यसैले यो बोलपत्र रद्द गरी नेपाल टेलिभिजनको साख गिर्न नदिन र नेपाल टेलिभिजनलाई कुनै हानीनोक्सानी हुन नदिन श्रीमानमा विनम्र अनुरोध छ।
नेपाल टेलिभिजनको सेटेलाइट सम्बन्धी बोलपत्रको कागजात तथा आधिकारिक रुपमा बोलपत्र हुनु भन्दा पहिले नै विभिन्न कम्पनीहरुमा पठाई सो कम्पनीहरूको हित हुनेगरी बनाउने र ठूलो आर्थिक लाभ लिन सौदाबाजी गर्ने अत्यन्त गैरकानुनी, नाजायज, अनैतिक र डरलाग्दो कार्य गरिएको विभिन्न प्रमाणहरू फेला परेका छन् । प्रमाणको रुपमा 26 May 2022 को २:२२ बजे निनायब महाप्रबन्धक चिंतामणी बरालले कार्यकारी अध्यक्ष समीरजंग शाहलाई बोलपत्र सम्बन्धी कागजात पठाएका छन् र कागजातको कपि बिदेशी कम्पनीलाई पनि पठाइएको छ। (कागजात संलग्न छ ) र निजहरुले उक्त कम्पनी सँग सौदाबाजी गर्न खोजेको पनि देखिन्छ तर उक्त कम्पनीले यस्तो कार्यमा संलग्न नहुने र यसरी बोलपत्रकाे गोप्य दस्तावेज विभिन्न कम्पनीमा पठाउनु गैरकानुनी हुने, अन्तराष्ट्रिय नियम कानुन तथा प्रचलनको विरुद्ध हुने तथा यो बोलपत्र स्वतः अवैध घोषित गरि रद्द हुनुपर्ने भनी स्वयं नेपाल टेलिभिजनमा उजुरी दिएको स्थिति देखिन्छ। यसरी 26 May 2022 मा नै विभिन्न कम्पनीहरुमा बोलपत्र सम्बन्धी कागजात अनधिकृत रुपमा पठाइ अनेक सौदाबाजीगरि सो कागजातमा आफ्नो स्वार्थ अनुकूल परिवर्तन गरी 17 june 2022 मा ३ हप्ताभन्दा बढी समय पछी मात्र आधिकारिक रुपमा बोलपत्र आह्वान गरेको देखिन्छ ।
बोलपत्र अनधिकृत रुपमा गैरकानुनी हिसाबले निश्चित रुपमा कुनै गिरोहलाई फाइदा पुग्ने गरी बनाइएको स्पष्ट देखिन्छ । यो हद सम्मको बदमासी अनियमितता र दुस्साहस सन्सारभर बिरलै मात्र देखिन्छ। स्वयं यो बोलपत्र सम्बन्धी कागजात अग्रिम रुपमा पाएको कम्पनीले नै नेपाल टेलिभिजनलाई बोलपत्र सम्बन्धी कागजात अवैध रहेको र यसलाई रद्द गर्नुपर्ने उजुरी दिएकोमा यसको सुनुवाई गरिएको छैन । यो कागजात बोलपत्र प्रकाशित हुनुभन्दा पहिले नै अनधिकृत रुपमा विभिन्न कम्पनी हरुमा पुगिसकेको देखिएकोले यसबाट नेपाल टेलिभिजनलाई गम्भीर क्षति पुग्ने देखिएको र अधिकारको चरम दुरुपयोग नेपाल टेलीभिजनका अधिकारीहरुबाट भएको र यो सिधै भ्रष्टाचारजन्य कार्य भई नेपाल टेलिभिजनलाई ठूलो क्षति पुग्ने भएकोले आधिकारिक रुपमा बोलपत्र हुनुअगावै बोलपत्र सम्बन्धी कागजात विभिन्न कम्पनीमा पठाउने र यसबाट ठूलो आर्थिक लाभ लिई भ्रष्टाचारमा संलग्न कर्मचारी तथा अधिकारीहरु माथि छानबिन गरी कडा कारबाही होस् तथा बोलपत्र सम्बन्धी सम्पूर्ण कागजातहरु सम्मानित आयोगले तुरुन्तै आफ्नो अधिनमा लिइ बोलपत्र सम्बन्धी सम्पूर्ण प्रक्रिया तुरुन्तै स्थगित गरी आवश्यक छानबिन र अनुसन्धानपछि मात्र पुनः प्रक्रिया अघि बढाउन र हालको मिलोमतोमा बनाइएको बोलपत्रलाई जुन प्रचलित नियम कानुन तथा सार्वजनिक खरिद ऐन विपरीत समेत छ तुरुन्त रद्द गरी आवश्यक निर्देशन प्रदान गर्न श्रीमानमा विनम्र अनुरोध छ।
श्रीमान् Nepal Television का भ्रष्ट व्यक्तिहरूको अनियमिततामा यतिमा मात्रै सीमित छैन। अर्को जघन्य अपराध र भ्रष्टचारको पर्दाफास भएको छ। बोलपत्र सम्बन्धी लागत अनुमान सबभन्दा महत्वपूर्ण कुरा हो । यो गोप्य राखिन्छ ।सेवासम्बन्धी बोलपत्रमा यसको गोपनीयता झनै महत्वपूर्ण छ। किनभने यसले बोलपत्रमा उल्लेख गरिने मूल्यमा सिधै असर गर्छ। यो लागत अनुमान पनि आफ्नो पकडकाे कम्पनीलाई गोप्य रुपमा उपलब्ध गराइएको प्रमाण पाइएको छ। यो लागत अनुमान प्रति mhz प्रति महिना १५८८. २३ अमेरिकी डलर कर सहितको रहेको थाहा भएको र केही निश्चित कम्पनीलाई गोप्य रुपमा उपलब्ध गराउनु सरासर बदमासी, अधिकारको दुरुपयोग, तथा सिधै भ्रष्टाचार जन्य कार्य हो। यति कम क्षमताको Satelite को बजार मूल्य ५००डलर प्रति महिनामा सजिलै पाइन्छ तर १५८८.२३ डलर मूल्य राखेर र त्यसैलाई टेन्डर पर्नेगरी बोलपत्र बनाउँदा करोडौंको आर्थिक घोटाला गरी चरम भ्रष्टाचार गर्न खोजेको देखिन्छ । यसैले यस्तो गोप्य तथा महत्वपूर्ण जानकारी समेत अवैध रुपमा उपलब्ध गराई चरम भ्रष्टाचार गर्न खोजिएकोले यसलाई तुरुन्त रोकी आवश्यक छानबिन गरी कडा कारबाही गरियोस र यो अनियमितताको अन्त्य गरियोस् भनी श्रीमानमा सविनय अनुरोध छ ।
टाट पल्टेको कम्पनीले तीन वर्षअघि टेन्डरमा भाग लिन नपाइने प्रावधान राखिएको मा यसलाई संशोधन गरी हटाइएको छ। GCC तोडमोड गर्न नपाइने प्रावधान हुँदाहुँदै बोलपत्रमा छुटाइएको छ Bid Security Form जस्तो महत्वपूर्ण दस्तावेज छुटाइएको छ तर यो नियतवस गरिएको छ किनभने उक्त Bid Security From बनाउँदा अत्यन्त धेरै समय लाग्छ र यो नभई बोलपत्र वैध हुँदैन , हाल आएर उक्त Form समावेश गरिएको छ र धेरै कम्पनीले अब प्रतिस्पर्धा गर्न सक्दैनन्, थप समय माग्दा उपलब्ध गराइएको छैन, संसोधित बुदाहरु बोलपत्र खरिद गरिसकेका कम्पनीहरुलाई उपलब्ध गराइएको छैन, Bandwidth resellers, Teleport operators आदिलाई पनि भाग लिन दिइ प्रतिस्पर्धा फराकिलो पार्नुपर्नेमा सार्वजनिक खरिद ऐन विपरीत र सार्वजनिक लेखा समिति, राष्ट्रिय सतर्कता केन्द्र, आदिको निर्देशनलाई ठाडै लत्याई प्रतिस्पर्धालाई सीमित गरिएको छ,यी त केही प्रमुख बुँदाहरू मात्र हुन् श्रीमानबाट बोलपत्र सम्बन्धी कागजात मगाई अध्ययन गराई, बोलपत्र प्रक्रिया स्थगित गरी आवश्यक छानविन गरी यस्तो अनियमितता गर्नेलाई कडा कारबाहीको लागि विनम्र अनुरोध गर्दछौं ।
श्रीमान् हरेकपटक लगातार केही व्यक्तिहरूको समूहलाई मात्र राखेर टेण्डर सम्बन्धी कागजात बनाइएको छ। पछिल्लोपटक विभिन्न निकायले ती कर्मचारीबाट बोलपत्र सम्बन्धी कागजात बनाउँदा अनियमिता भयो भने राष्ट्रिय सतर्कता केन्द्रले कारबाहीको सिफारिस गरेकोमा कुनै कारबाही नगरी उल्टै उनीहरु मार्फत नै पुनः बोलपत्र सम्बन्धी कागजात बनाउन लगाई अनियमिततालाई खुलेआम रुपमा अगाडि बढाइएको छ। राष्ट्रिय सतर्कता केन्द्र बाट कारबाहीको लागि सिफारिस भएका काे काे कर्मचारीलाई के के कारबाही भयो? निजहरु पुनः यस कार्यमा संलग्न छन्/ छैनन् ? छन भने के कारणले फेरी यस कार्यमा संलग्न गराइएका हुन् श्श्रीमानबाट यथार्थ जानकारी माग गरी त्यस्ता कर्मचारीमाथि छानबिन गरी कारबाही होस् र यसरी गिरोह खडा गरी मिलोमतोमा tender document बनाई भ्रष्टाचार जन्य कार्यमा संलग्न भइ संस्थानको व्यापक नोक्सानीमा संलग्न भए वापत हदै सम्मको कारबाही होस् भनी श्रीमान समक्ष सविनय निवेदन गर्दछौं।
प्रतिक्रिया दिनुहोस्