जनता टाइम्स

१२ श्रावण २०७९, बिहीबार २०:१६

जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदन तयार


काठमाडौं, साउन १२ । तात्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले प्रतिवेदन तयार गरको छ । सिंहदरबार आज बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समावेश गरेर आफ्नो अन्तिम प्रतिवेदन तयार गरेको हो ।

समिति सचिव सुरेन्द्र अर्यालका अनुसार प्रतिवेदनका केही प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुख अग्नि सापकोटालाई बुझाइने छ । समितिमा केही विषयमा सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको अर्यालको भनाई छ ।

छानविन समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन सर्वसम्मत हुन नसकेको जानकारी दिनुभयो । उहाँले समिति अन्तिम टुंगोमा पुगेको र सबैका आफ्ना–आफ्ना विचारहरु राखिएको बताउनु भयो ।

करका दर हेरफेरका विषयमा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा छानविन गर्न प्रतिनिधिसभाले गत असार २२ गते बिशेष समिति गठन गरेको थियो । १० दिनको कार्यावधि पाएको समितिको म्याद ७ दिन थपिएको थियो ।

समितिको म्याद आज सकिएको छ । थपिएको समयभित्र समितिले आफ्नो प्रतिवेदन तयार पारे पनि अर्थ मन्त्रालय प्रवेश गरी करको दर हेरफेर गर्ने मुख्य ब्यक्ति रघुनाथ गिरीसँग भने बयान लिन सकेन । गिरी भागेर बिदेश गएको कारण समयभित्र बयान संभव नभएको हो ।