जनता टाइम्स

१७ श्रावण २०७९, मंगलवार १२:४६

इन्धनको मूल्य तत्काल नघटाए कडा आन्दोलन गर्ने अखिलको चेतावनी


काठमाडौं, साउन १७ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेको छ । अनेरास्वबियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति जारी गर्दै तत्काल मूल्य घटाउन माग गर्नुभएको हो ।

पछिल्लो १५ दिनमा दुईपटक गरेर मूल्य घटेर आएको भएपनि नेपाल आयल निगमले भाउ घटाउन चासो नदिएको अध्यक्ष बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य घटाएको छैन,’ बिज्ञप्तीमा भनिएको छ ।अखिलले मूल्य नघटाए कडा आन्दोलनको चेतावनी पनि दिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी मुल्य समायोजन नगरिएको प्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको छ ।’

अनेरास्ववियुले यथाशीघ्र मूल्य समायोजन गर्न निगमलाई आग्रह गरेको छ । ‘मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाँड्न मस्त छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति

अनेरास्ववियु गरीब जनताको जनजिविकाको सवालमा, सामाजिक सरोकारका विषयहरुमा, मुलुकमा व्याप्त विकृति, विसंगति, भ्रष्टाचारको विरुद्ध संघर्षको मैदानमा अग्रमोर्चामा रही नुन देखि सुनको मूल्यवृद्धिको विरुद्ध सदैव खबरदारी गर्दै आएको सर्वविदितै छ । यसै सन्दर्भमा भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाउदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य घटाएको छैन।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी मुल्य समायोजन नगरिएको प्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको छ । विगतमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले गरीब जनताको चुल्हो बल्न कठिन भई रहेको अवस्था छ, अतिआवश्यक वस्तु तथा सार्वजनिक यातायातको भाडा महँगिएको छ, देशमा राज्य छ कि छैन भन्ने अवस्था छ ।

मुल्य समायोजनको बाहनामा अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घटदा नघटाई, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त छ । तसर्थ यथाशिघ्र मुल्य समायोजन गर्न निगमलाई आग्रह गर्न चाहन्छौ, अन्यथा अनेरास्ववियु वैज्ञानिक तथा स्वचालित मुल्य समायोजनको पक्षमा निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छ। मिति:२०७९ श्रावण १७