जनता टाइम्स

१७ श्रावण २०७९, मंगलवार २०:२६

उपसचिव नेपालको गाडीबाट थप १६ लाख ५० हजार बरामद


काठमाडौं, साउन १७ । घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार रकम बरामद भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले दिनुभएको जानकारीअनुसार उपसचिव नेपालले प्रयोग गर्ने बा १ झ ९९४६ सरकारी नम्बरको कारबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

उपसचिव नेपाललाई अख्तियारको टोलीले आज मंगलबार साँझ काठमाडौं महानगरपालिका–१ नागपोखरीस्थित आरन्य होटल कम्पाउन्डबाट ६ लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको थियो। नेपालले घुस माग गरिरहेको भन्ने गोप्य सूचना अख्तियारको टोली होटलमा पुगेको हो । सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले नेपाललाई पक्राउ गरेको थियो ।

उपसचिव नेपालले एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्रको लागि घुस मागेको अख्तियारको भनाई छ । घुससहित पक्राउ परेपछि नेपालको गाडी खनतलासी गर्दा थप १६ लाख ५० हजार बरामद भएको अख्तियार प्रवक्ता भण्डारीले बताउनु भयो । अख्तियारका अनुसार उपसचिव नेपालको योसहित साथबाट कुल २२ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।