काठमाडौं, साउन २० । सत्तारुढ गठबन्धनले बहुमतको आधारमा संसदीय छानविनबाट चोख्याएको नाटक गरी पुनः नियुक्ति दिएपछि सचिवहरुले अर्थमन्त्री जनार्दन शर्मालाई सामुहिक बहिष्कार गरेका छन । शर्मा मन्त्री रहेसम्म अर्थ मन्त्रालयमा जानै नमानेर सचिवहरुले मन्त्रीको सामुहिक बहिष्कार गरेका हुन ।
यसअघि अर्थ मन्त्रालयमा जान सचिवहरुबीच हानाथाप हुन्थ्यो । तर अर्थसचिव मधु मरासिनीले नै मन्त्री शर्मालाई बहिष्कार गर्नुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै भेटेर अर्थमन्त्री शर्मासँग आफूले अव काम नगर्ने भन्दै मन्त्रालय नै जानुभएन । अर्थसचिव मरासिनी नगएपछि उहाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
मरासिनी अर्थमा जाँदै नजाने अडान मात्रै होइन यसपटक अर्थसचिव हुन् कोही पनि सचिव तयार भएनन । जस्को कारण बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि राजस्व सचिव कृष्णहरी पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिनुपर्ने बाध्यता आइलाग्यो । अर्थ मन्त्रालयमा एकै सचिवले दुवै जिम्मेवारी पूरा गर्न संभव नहुने त्यहाँका कर्मचारी बताउँछन ।
गत आइतबार अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त भएपछि मरासिनी बिदामा बस्दै आउनु भएको थियो । मन्त्री शर्माको दबाबमा काम गर्न तयार छैन भन्दै मरासिनीले अर्थ त्याग्नुभएको हो । अनधिकृत व्यक्ति रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यरातमा राखेर बजेटमा करका दर तथा राजस्वमा हेरफेर गरेदेखि मन्त्री शर्मा र सचिव मरासिनीबीच दूरी बढेको अर्थका कर्मचारीहरु बताउँछन ।
मरासिनी अर्थमा नफर्किने भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ आर्याल, राष्ट्रिय योजना आयोगका सचिव केबलप्रसाद भण्डारी, उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई मनाउन खोजियो । तर तीनै जनाले अर्थमा जान अनिच्छा देखाउनु भयो । अर्थमा आउन नमानेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेललाई पनि प्रधानमन्त्री कार्यालय तानिएको छ ।
प्रतिक्रिया दिनुहोस्