जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १२:२२

आफ्ना पोस्ने काममै सरकार ब्यस्थ : प्रधानमन्त्री निकट चिकित्सक पोस्न गंगालालमा बढाइयो १५० प्रतिशत भत्ता


काठमाडौं, साउन २५ । गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका विशेषज्ञ चिकित्सकहरूलाई १ सय ५० प्रतिशत भत्ता बढाइएको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ नेतृत्वको सञ्चालक समितिले सो अस्पतालका बिशेषज्ञ चिकित्सकहरुलाई २ वर्षसम्मका लागि मासिक खाइपाई आएको तलब भत्ताको थप १ सय ५० प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।

समितिले डा. रवि मल्ललगायत केही चिकित्सकको प्रभावमा परेर अस्पतालको आर्थिक प्रशासन शाखासँग राय सुझावसमेत नलिई भत्ता बढाउने निर्णय गरेको हो । भत्ता दिने निर्णयले अस्पताललाई मासिक थप एक करोड रुपैयाँभन्दा बढी आर्थिक भार परेको छ ।

सञ्चालक समितिले अवकाश पाउन लागेका डा. मल्ललाई लक्ष्य गरेर विशेषज्ञ चिकित्सकको अवकाशको उमेर ६० वर्षबाट बढाएर ६३ वर्ष कायम हुने गरी नियमावली संशोधन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । उक्त निर्णय पनि अस्पताल प्रशासन महाशाखा, आर्थिक प्रशासन, नर्सिङ विभाग, वरिष्ठ कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट तथा विभागीय प्रमुखले दिएको रायसुझावविपरीत गरिएको थियो । डा. मल्ल प्रधानमन्त्री शेरबहादुर देउवा निकट चिकित्सक हुन ।

मुटुको शल्य चिकित्सकलाई आकर्षण गर्न गंगालालका सञ्चालक समिति सदस्य विजय राईको संयोजकत्वमा डा. राजेन्द्र कोजू र डा. रामेश कोइराला सदस्य रहेको समिति गठन गरिएको थियो । समितिको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । गंगालाल अस्पतालको सञ्चालक समिति १३ सदस्यीय रहेको छ । सदस्यसचिव गंगालालको कार्यकारी निर्देशक हुने व्यवस्था छ ।

निर्णय गर्दा बैठकमा ८ जना मात्र उपस्थित थिए । त्यसमा पनि स्वास्थ्य सचिव डा. रोशन पोखरेलको साटो प्रमुख विशेषज्ञ श्यामसुन्दर यादव र गंगालालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको सट्टामा डा. सुजीव राजभण्डारी उपस्थित हुनुभएको समितिका सदस्यहरुल्े बताएका छन । ती सदस्यका अनुसार गंगालालका सदस्य काठमाडौं क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्य ईश्वर पोखरेल, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, महिला प्रतिनिधि बिना दवाडी ज्ञवाली बैठकमै उपस्थित हुनुभएको थिएन ।

अस्पताल कर्मचारी संघका अनुसार बैठकको बहुमत पुर्याउन चैतमा अवकाश भइसकेका समिति सदस्य हृदयरोग विशेषज्ञ डा. युवराज लिम्बूले समेत उपस्थित भएर हस्ताक्षर गर्नुभएको छ ।