काठमाडौं, ९ भदौ । सप्तरीमा तिलाठी कोइलाडी गाउँपालिका उपाध्यक्ष फूलकुमारी साहसहित ११४ मिटर ब्याजीविरुद्ध उजुरी दर्ता भएको छ। सरकारले देशभरका मिटर ब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेको छ। सोहीअनुसार सप्तरीमा पनि उजुरी दर्ता भएको हो।
मिटर ब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटर ब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारवाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरी निवेदन दिन आह्वान गरेको थियो।
यस्तो उजुरी तिलाठी कोइलाडी गाउँपालिका उपाध्यक्ष साहविरुद्ध पनि परेको हो। तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष साहविरुद्ध पालिकाको वड नम्बर ६ की सुनितादेवी मण्डलले आवश्यक कारवाहीको माग गर्दै उजुरी गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
उजुरीकर्ताकी सासु लक्ष्मिनिया देवी तथा ससुरा नैमानी मण्डलले ०६१ सालमा दुईचोटी गरी ४० हजार रुपैयाँ ऋण लिएकामा ब्याजसहित फिर्ता गरे पनि उपाध्यक्ष साहले जग्गा हालसम्म फिर्ता नगरेको भन्दै उजुरी परेको छ। स्थानिय तहको निर्वाचनमा उपमेयरमा कांग्रेसबाट फुलकुमारी साह निर्वाचित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्