जनता टाइम्स

११ श्रावण २०७६, शनिबार ०८:१६

विश्वकप एसिया छनोट – कुवेतको ३ विकेट गयो, बसन्तले लिए एकै ओभरमा २ विकेट


काठमाडौं, साउन ११ । आईसीसी टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले सुरुमै तीन विकेट लिएको छ ।

छैटौँ ओभरको पहिलो बलमा नेपाललाई बसन्त रेग्मीले दोस्रो सफलता दिलाएका हुन् । रेग्मीले आफ्नो स्पेलको पहिलो बलमा नै कुवेतका रविजा सन्दुरुवानलाई बोल्ड गरेका हुन् । उनी १६ बलमा १५ रन बनाएर आउट भए । त्यस्तै छैटौँ ओभरको अन्तिम बलमा अदनान इन्द्रीसलाई बसन्तले शरद भेषावकरबाट क्याचआउट गराए ।

त्यसअघि नेपालका लागि दोस्रो ओभरको पहिलो बलमै करण केसीले पहिलो सफलता दिलाएका थिए । आफ्नो स्पेलको पहिलो बलमै उनले कुवेतका मीत भाव्सरलाई विकेटकीपर विनोद भण्डारीबाट क्याचआउट गराएका हुन् ।

ताजा अवस्थामा कुवेतले ७ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५५ रन बनाएको छ । शुक्रबार भएको खेलमा कुवेतले कतारलाई र सिंगापुरले मलेसियालाई हराएपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना बलियो भएको छ । यस्तै अवस्थामा नेपाली टिमको पहिलो लक्ष्य कुवेतविरुद्धको खेलमा जित निकाल्ने रहेको छ ।

हाल अंकतालिकाको दोस्रो स्थानमा रहेको कुवेत नेपालभन्दा वरीयतामा तल रहेको टिम हो । ८ वर्षपछि टी–२० क्रिकेटमा खेल्न लागेका यी दुई टिममा यो खेल जितेमा कुवेतको पनि ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम रहनेछ । त्यसैले पनि उसले नेपालविरुद्ध जितको लक्ष्य लिएर नै मैदानमा उत्रनेछ ।