जनता टाइम्स

१४ भाद्र २०७९, मंगलवार १३:३१

दसैंका लागि नयाँ नोट चाहिएको छ ? भदौ २६ देखि साट्न पाइन्छ


काठमाडौं,१४ भदौ । नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैमा टिका लगाएर दक्षिा दिंदा नयाँ नोट नै दिने प्रचलन बढ्दै गएको छ । यही कुरालाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले पनि हरेक वर्ष नयाँ नोट सटही गर्दै आएको छ । यसैक्रममा चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालकाअनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ ।

सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने उहाँले बताउनुभयो । २० भदौपछि मात्रै कहाँ–कहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने तयारी रहेको उहाँको कथन छ ।

काठमाडौं उपत्यका बाहिर पनि बैंक तथा वित्तीय संस्थामार्फत नै आवशयकता अनुसार राष्ट्र बैंकको प्रदेश स्थिति कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने उहाँले बताउनुभयो । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक–एक बिटा नयाँ नोट उपलब्ध गराउने उहाँले बताउनुभयो ।