जनता टाइम्स

११ श्रावण २०७६, शनिबार १५:००

बन्दरगाहको काम अलपत्र, जयपुर क्षेत्रमा काँडे तारबार


धम्भोजी, साउन ११

भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निर्माणको काम पूरा हुन सकेको छैन । सुक्खा बन्दरगाहको काम अलपत्र पर्दै आएको छ । पछिल्लो पटक भारतले सीमावर्ती जयपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दसगजासित जोडेर आफ्नो क्षेत्रमा तारबार गरेको हो ।

‘‘भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको त देखिन्छ,’’ नेपालगञ्जस्थित सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका इञ्जिनीयर होमनाथ भुसालले भन्नुभयो, “भारतले तारबार गरे पनि बन्दरगाहको काम लक्ष्य अनुरुप अगाडि बढ्न सकेको छैन ।” जग्गा अधिग्रहणलगायत काम नेपालका तर्फबाट भइसकेको उहाँले बताउनुभयो ।

बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको दुई हजार ७०० मिटर पहँुच मार्ग नेपाल सरकारले निर्माण गरेको छ । अन्य भौतिक संरचना निर्माणका लागि भारतीय सरकारले लगानी गर्नुपर्ने हो । इञ्जिनीयर भुसालका अनुसार पहँुच मार्ग निर्माणको काम पूरा भएको छ । ‘‘हामीले पहुँच मार्ग निर्माणको काम पूरा गर्यौं, बाँकी काम भारत सरकारले गर्नेछ,’’ उहाँले भन्नुभयो ।

बन्दरगाह निर्माणसँगै त्यहाँ एकीकृत सुरक्षा पोस्ट (आइसिपी) स्थापना गरिनेछ । निर्माणपछि आधुनिक भन्सारको काम शुरु हुनेछ । बन्दरगाहसम्म रेलवे सेवा विस्तार हुनेछ । एकीकृत सुरक्षा पोस्टमा नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्त जाँच गर्नेछन् । यसले सुरक्षा व्यवस्था चुस्त बनाउनुका साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ ।

व्यापारी व्यवसायीले पनि बिना झन्झट भारतबाट विभिन्न सामान निर्वाध रूपमा आयात गर्नसक्ने जनाइएको छ । पछिल्लो पटक भारतीय अधिकारीले काम पूरा गर्न बोलपत्र आह्वानको प्रक्रियामा रहेको जानकारी पाएको इञ्जिनीयर भुसालले बताउनुभयो । भारतीय लगानीमा निर्माण भइरहेका कारण लागत र पूर्ण डिजाइनबारे नेपालका अधिकारी अनभिज्ञ छन् ।

नयाँदिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालगञ्जमा बन्दरगाह आवश्यक रहेको भन्दै जयपुरलाई रोजिएको हो । बन्दरगाह सञ्चालन भए आयात सहज हुने र यहाँका जडीबुटी र उत्पादन निकासी गर्न सरल हुने जनाइएको छ । जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बन्दरगाह निर्माणमा भारतीय पक्षले सोचेअनुरुप काम तीव्रता नदिएको बताउनुभयो ।

‘‘भारतले काम गरेजस्तो गर्ने तर काम भएको छैन’’ उहाँले भन्नुभयो, ‘‘सुक्खा बन्दरगाहको निर्माण कार्य अलपत्र पर्दै आएको छ ।’’ अध्यक्ष वैश्यले भारतमा निर्वाचन चलिरहेकाले पनि काममा ढिलाइ भएको हुनसक्ने सम्भावना व्यक्त गर्दै त्यहाँ निर्वाचन सकिएपछि अब छिटो काम हुने आशा व्यक्त गर्नुभयो ।