जनता टाइम्स

१८ भाद्र २०७९, शनिबार १९:०६

धनगढीका मेयर गोपाल हमालको निर्णयबिरुद्ध उभिए व्यवसायी, बनाए संघर्ष समिति


धनगढी, भदौ १८ । धनगढी उप महानगरपालिकाले मुख्य बजार क्षेत्रको सडक विस्तार गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेपछि सडक क्षेत्रका घरधनी तथा व्यवसायी विरुद्धमा उत्रिएका छन् ।

धनगढी मुख्यबजार क्षेत्रमा ३० मिटर सडक क्षेत्राधिकार राख्दा धेरै परिवार घरवारविहीन बन्ने र कोरोनाका कारण घाटा व्यहोर्दै आएका व्यवसायी झनै संकट व्यहोर्ने भएकाले सडकको क्षेत्राधिकार घटाउन व्यवसायीको माग छ ।

‘धनगढीको मुख्य बजारलाई पुरनो बजारका रुपमा संरक्षण गरेर बाहिरी भागमा बजार बनाउँदा राम्रो हुन्छ,’ व्यवसायी हित्रिस मोहम्मद्ध शिद्धिकीले भन्नुभयो, ‘बजारमा पाँच धुर जमिनमा घर बनाएर बसेकाहरू लागि घरबारविहीन बनाउने काम गर्नु हुँदैन ।’

व्यवसायीले सडक विस्तार गर्दा हुने समस्याका बारेमा जनप्रतिनीधिसँग छलफल गर्न व्यवसायी नेत्रराज शर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति समेत गठन गरेका छन् । ‘हामीलाई बेवास्ता नै गरेर अघि बढ्न खोज्नु मुर्खता हुनेछ’ तदर्थ समितिका अपाध्यक्ष अर्जुन श्रेष्ठले भन्नुभयो, ‘समस्याको समाधान कसरी हुन्छ, त्यसबारेमा छलफल गरिनु आवश्यक छ, आधा कट्ठा, पाँच धुर जमीनमा घर बनाएर बसेकाहरूको व्यवस्थापन नगरी सडक निर्माण हुन सक्दैन ।’

आफूहरू विकासविरोधी नभएको बताउँदै उहाँले सबै नागरिकको समस्या समाधान गरेर मात्रै सडक विस्तार गर्नु पर्ने बताउनु भयो । धनगढी बजार क्षेत्रबाहिर पनि व्यवस्थित सडक बनेको भन्दै उहाँले अब धनगढीमा बजार व्यवस्थापन गर्न समस्या नभएकाले सबैको रायअनुसार अघि बढ्दा राम्रो हुने बताउनु भयो ।

‘मेयर साप निस्वार्थ भावनाले धनगढीको विकास गर्न आउनु भएको छ, उहाँलाई हामी सहयोग गर्न पनि तयार छौं,’ उहाँले भन्नुभयो, ‘तर सबैथोक विनास हुनेगरी सहयोग गर्न सक्दैनौं, यस विषयमा गम्भीर बन्नु पर्छ ।’ उहाँले पुरै घर जाने र अन्त जमिन समेत नभएका व्यवसायीलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य विषय भएको बताउनु भयो ।

शनिबार धनगढी स्थित नैनादेवि मन्दिरमा भेला भएका अन्य व्यवसायीले भने अहिले सडक निर्माणको कामलाई अघि बढाउन उपयुक्त नभएको बताए । ‘कोरोनामा सबै व्यवयासी घाटामा गए’ व्यवसायी नरेश साइजुले भन्नुभयो, ‘अहिले पनि व्यापार व्यवसायमा मन्दि आएको छ, बैंकको ब्याज तिर्न पनि सकिरहेका छैनौं, यस्तोमा सडक विस्तार गरेर व्यवसायीलाई विस्थापित गर्ने काम गर्नु हुँदैन, परिस्थिति सहज भएपछि मुख्य बजारको सडकका बारेमा सोच्नु उपयुक्त हुन्छ ।’

तदर्थ समितिको सचिवमा ठेकेन्द्रराज जोशी, सह–सचिवमा गोविन्दराज जोशी, सदस्यमा ठेकलाल श्रेष्ठ, अनुप उपाध्याय, प्रकाश जंग स्वाँर, आनन्द जोशी, कर्णबहादुर कुँवर, रुपबहादुर खड्का, शुशील शाह, रणबहादुर बोहरा रहनुभएको छ ।