जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार ०९:१२

क्रिकेटका पूर्वकप्तानको निधन


हेटौँडा, साउन १२ । आठ महीनादेखि रक्त क्यान्सरको उपचार गराइरहनुभएका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आज निधन भएको क्रिकेट सङ्घ मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिनुभयो ।

३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान गर्नुभएको थियो । क्रिकेट सङ्घ मकवानपुरले एक शोक वक्तव्यमार्फत मकवानपुर क्रिकेट सङ्घका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तानसमेत रहनुभएका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको जनाएको छ ।

खेलकूद विकास समिति मकवानपुरका सचिव खुशराज दाहालले खेलाडी श्रेष्ठको निधन राष्ट्रको खेल क्षेत्रका लागि अपुरणीय क्षति भएको बताउनुभयो । मृतक श्रेष्ठका आमा, बुबासहित श्रीमती र एक छोरा छन् ।