जनता टाइम्स

१३ श्रावण २०७६, सोमबार ०९:३७

एनआरएनए अध्यक्ष भट्टको बदमासीले तामाकोशी तेस्रोको क्षमता घटाइएको खुलासा


काठमाडौं, साउन १३

तामाकोशी तेस्रोको क्षमता घटाइएको विषय अहिले निक्कै चर्चामा रहेको छ । दोलखा र रामेछाप भएर बग्ने तामाकोशी नदीमा बन्ने आयोजनाको क्षमता घटाउने विषयमा स्थानीयबासीले समेत विरोध गरिरहेका छन् ।

तर, ६५० मेगावाट क्षमता भएको आयोजनालाई घटाएर २०० सयमा बनाउन एनआरएनएका अध्यक्ष भवन भट्टको कम्पनी सक्रिय रहेको छ । नर्वेको स्टेटक्राफ्ट कम्पनीले तामाकोशी तेस्रो ८८० मेगावाट भन्दा बढी क्षमतामा बनाउन सकिने निष्कर्षका साथ अध्ययन गरेको थियो । सबैपक्षको लेखाजोखा गरेर काम शुरु गर्ने बेलामा विद्युत बेच्ने बजार नभएको र लगानीयोग्य वातावरण नभएको भन्दै आयोजना छाडेर हिँड्यो ।

नियमानुसार आयोजना लगानी बोर्डले संयोजन गर्नुपर्ने थियो । किनकी ५०० मेगावाट क्षमता भन्दा माथिका आयोजनाको संयोजन गर्ने जिम्मेवारी बोर्डको नै रहेको छ । तर आयोजनाको विषयमा कुनै छलफल नै नगरी एक निजी कम्पनीलाई दिने प्रयास गरियो । तत्कालीन ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले आयोजना गैरआवासिय नेपाली संघका अध्यक्ष भट्टको टिबिआई होल्डिङलाई दिए ।

विस्तृत परियोजना प्रतिवेदन तयार भएको आयोजनाको पुनः विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने निर्णय गरियो । सोही आयोजनाको क्षमता घटाएर टिबिआई होल्डिङले करिब २०० सय मेगावाट क्षमतामा आयोजना निर्माण गर्ने गरी दुई चिनियाँ कम्पनीसँग साझेदारी गर्ने भएको छ ।

सो आयोजनामा चिनियाँ कम्पनीले करिब ५० करोड अमेरिकी डलर लगानी गर्नेछन् । संयुक्त विकास फ्रेमवर्कसम्बन्धी सम्झौतापत्रमा यही बिहीबार उर्जामन्त्रालयमा उर्जामन्त्री वर्षमान पुन र युनान प्रान्तका भाइस गभर्नर झांग गुहुवाको उपस्थितिमा हस्ताक्षर भएको जनाइएको छ । तर सो सम्झौतालाई हालसम्म गोप्य राखिएको छ ।

चीनको वाईईआईजी इन्टरनेशनल, सांघाई इन्भेष्टिगेसन, डिजाइन एण्ड रिसर्च इन्ष्टिच्युट कम्पनी लिमिटेड र नेपालको टीबीआई होल्डिंग्सबीच उक्त सम्झौता आदानप्रदान भएको बताइएको छ ।आयोजना २०२० को सुरु बाटै निर्माण सुरु गरिनेछ । आयोजना ३ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ ।