काठमाडौं, असोज २ । पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर आज बिहान विज्ञ समूहले सर्वोच्च अदालतको आदेशअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन प्रतिवेदन प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको हो ।
सर्वोच्च अदालतको आदेश अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार विज्ञ समूह गठन भएको थियो ।
नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष रहेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बताउनु भयो ।
काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्र्याक) र पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदीबीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र विमानस्थल निर्माणको लागि उपयुक्त देखिएको मन्त्री श्रेष्ठले बताउनु भयो ।
निर्धारित समयमै विज्ञ समूहले अध्ययन गरी प्रतिवेदन बुझाएको छ । विज्ञ समूहले दिएको प्रतिवेदन अनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य छिट्टै सुरु गरिने मन्त्रीले श्रेष्ठले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्