जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार १५:३३

बुढेसकालको यौनइच्छाः कसरी गर्ने व्यवस्थापन ?


करुणाजी ! म उमेरले करिब ६० वर्षजतिको भएँ । श्रीमती ५० वर्षकी छिन् । म ५० वर्ष भएयता विस्तारै यौन क्षमता घट्दै गएको अनुभूति हुन थालेको थियो ।

शारीरिकरूपमा लगभग यौन क्षमता सकिएझैँ भएको छ । यद्यपि मनले भने त्यो कुरा स्वीकार गर्दै गर्दैन । ममा पहिले झैं यौन क्षमता आओस् भन्ने लाग्छ । अब त उमेर ढल्किसक्योे, म किन यस्तो सोच्छु भनेर आफूले आफैंलाई सम्झाउँछु । यो पीडा बढ्दै गएको छ, तर, कसैलाई भन्न सक्दिनँ । यो पीडा हटाउने केही उपाय छ कि ?

पुरुषहरूको उमेर ढल्कँदै जाने क्रममा यौन क्षमता तथा इच्छा घट्दै जान्छ । विभिन्न अध्ययनबाट यस कुराको पुष्टि भइसकेको छ । यसो भन्दैमा सबै पुरुषमा यो लागू हुँ दैन । कतिपय पुरुषले उमेर ढल्कने क्रमसँगै आफ्नो यौनेच्छालाई पनि कायमै गरेका हुन्छन् । यौनेच्छा नहुनुका पछाडि विभिन्न कारण हुन सक्छन् । विशेषगरी उदासीपना र चिन्ता छ भने यौन चाहना घट्दै जान्छ ।

अर्को अवस्था भनेको इन्डोक्राइन हार्मोनको गडबडी एवं कुनै औषधि लगातार रूपमा लामो समयदेखि सेवन गरिरहेको अवस्था छ भने पनि यौन चाहनामा कमी आउँछ ।

केही अध्ययनहरूले पुरुषहरूमा ५० वर्षको उमेरपछि ०.४ देखि ०.८ प्रतिशतले टेस्टोस्टेरोन हार्मोन घट्दै जान्छ र जसका कारण यौन चाहनामा कमी आउने पनि देखाएको छ । अर्को अध्ययनका अनुसार धेरैजसो पुरुषहरू जसले ६० नघिसकेपछि यौन चाहना बढी हुनु भनेको राम्रो होइन, असामान्य व्यवहार हो भन्ने विश्वास गर्छन् भने पनि यौनेच्छामा र्‍हास आउन सक्छ ।