जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार ०९:२३

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, अरु देशको कति ?


काठमाडौं, असोज  १३ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३० रुपैयाँ ८१ पैसा कायम भएको छ । यसअघि मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३० रुपैयाँ ९० पैसा र खरिददर १३० रुपैयाँ ३० पैसा कायम भएर हालसम्म कै उच्च विन्दुमा पुगेको थियो ।

मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३०.९० रुपैयाँ (बिक्रीदर) पुगेको थियो । त्यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो । त्यसपछि घट्न थालेको विनिमय दर साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो । त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको हो । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो ।

डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घटेको जानकारहरू बताउँछन्  । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । बुधबार साँझ ७ बजे (नेपाली समय) सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८१.८० पुगेको छ ।

गत शनिबार यस्तो दर भारु ८१.११ थियो । पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्रमा सुधारका संकेत देखिएकाले अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ २२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ७९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८४ रुपैयाँ ३० पैसा रहेको छ ।

यसैगरी साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २८ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ३९ पैसा रहेको छ ।