जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार १८:५९

मातहत निकायलाई रक्षामन्त्री पोखरेलको निर्देशन : निर्धारित लागत र समयमै विकासका काम सम्पन्न होस


काठमाडौं, साउन १६ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले निर्धारित लागत र समयमै कार्यक्रम सम्पन्न गर्नेतर्फ लाग्न रक्षा मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीसँग कार्यसम्पदन संझौता गरेको भोलिपल्ट रक्षा मन्त्रालयमा मन्त्रालय र अन्तर्गत निकायहरूबाट आर्थिक वर्ष २०७५/७६ मा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाहरूको तेस्रो चौमासिक र वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पोखरेलले सो निर्देशन दिनुभएको हो । ‘आगामी दिनमा सम्बन्धित निकायहरूबीच समन्वयलाई थप सुदृढ तुल्याउँदै निर्धारित लागत र समयमै कार्यक्रम सम्पन्न गर्नेतर्फ विशेष ध्यान दिनोस, परिणामलाई ख्याल गर्नाेस,’ विभागीय प्रमुखहरूलाई निर्देशन दिँदै उपप्रम पोखरेलले भन्नुभयो ।

समीक्षा बैठकमा उहााले मन्त्रालय र नेपाली सेना अन्तर्गत गत आर्थिक वर्षमा सञ्चालित विभिन्न विकास कार्यक्रम तथा आयोजनाहरूको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै आगामी दिनमा अन्तर निकाय समन्वय र सहकार्यलाई थप सुदढ बनाई थप प्रगति हासिल हुने गरी कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताउनुभयो । नेपाल सरकारले नतिजामुखी कार्य सम्पादनलाई जोड दिने क्रममा सम्माननीय प्रधानमन्त्री र विभागीय मन्त्री तथा मन्त्रालयका मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता गरी कार्य अघि बढाउने ऐतिहासिक कार्यको शुरुवात गरेको बताउँदै सो अनुरूप चालु आर्थिक वर्षदेखि प्रभावकारी तवरले कार्य सम्पादन गरी अपेक्षित नतिजा हासिल गर्न सबैले दत्तचित्त भएर लाग्नुपर्ने धारणासमेत राख्नुभयो ।

समीक्षा बैठकमा रक्षा मन्त्रालय, नेपाली सेना र सो मातहतका निकायहरूबाट गत आर्थिक वर्षमा सञ्चालित विभिन्न विकास कार्यक्रम तथा आयोजनाहरूको समग्र वित्तीय तथा भौतिक प्रगति, आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीहरू एवं सम्बोधन गर्नुपर्ने मुख्य विषयहरू तथा राष्ट्रिय विकास समस्या समाधान समितिको ४३‚४४ र ४५ औँ बैठकबाट भएका निर्णयहरूको कार्यान्वयन स्थिति सम्बन्धमा विस्तृत छलफल भएको थियो । समीक्षामा मन्त्रालय र नेपाली सेना अन्तर्गत सञ्चालित अधिकांश आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगति ९५ प्रतिशत भन्दा बढी रहेको, राष्ट्रिय गौरवका र राष्ट्रिय महत्त्वका आयोजनाहरूको प्रगति सतप्रतिशतको हाराहारीमा रहेको प्रतिवेदन प्रस्तुत भयो ।

समीक्षा बैठकमा नेपाली सेनाबाट निर्माण भइरहेको काठमाडौं–तराई÷मधेश द्रुतमार्ग, कर्णाली करिडोर, कालीगण्डकी करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ करिडोर र जाजरकोट–डोल्पा (दुनै) सडकलगायत विभिन्न भौतिक पूर्वाधारहरू निर्माण तर्फ लक्ष्यको शत प्रतिशत प्रगति हासिल भएको कुरा सम्बन्धित आयोजना प्रमुखहरूले राख्नुभएको थियो । प्रकियागत कारणले कतिपय आयोजना तथा कार्यक्रमको वित्तीय प्रगति भौतिक प्रगतिको तुलनामा केही कम देखिए पनि भौतिक प्रगति भने लक्ष्य अनुरूप नै हासिल भएको कुरा समीक्षा बैठकमा सम्बन्धित विभागीय प्रमुखहरूले राख्नुभएको थियो ।

बैठकमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले गत आर्थिक वर्षमा रक्षा मन्त्रालय र नेपाली सेना र यस अन्तर्गतका निकायहरूबाट हासिल भएका उपलब्धिहरू महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्दै राष्ट्रिय सुरक्षा नीति‚ २०७५ जारी हुनु¸ प्रतिरक्षा नीतिको मस्यौदा तयार हुनु तथा काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको कामले गति लिनु तथा दुर्गम जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी विभिन्न कोरिडरहरूको निर्माण हुनु जस्ता कार्यहरूलाई गौरवका रूपमा लिनुपर्ने कुरा बताउनुभयो । नेपाली सेनाले वर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपाली भन्ने राष्ट्रिय सोच तथा पन्ध्रौँ योजनाको लक्ष र उद्देश्यलाई हासिल गर्ने गरी भिजन(२०३० तयार गरेको र यसको प्रभावकारी कार्यान्वयनका लागि सबै निकायको सहयोग आवश्यक पर्ने कुरा उहाँले राख्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले मन्त्रालय र अन्तर्गत निकायबाट गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमहरूको उपलब्धि समग्रमा प्रशंसनीय रहेको कुरा उल्लेख गर्दै समीक्षा बैठक र मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकलाई औपचारिकतामा मात्र सीमित नराखी यसमा विकास आयोजना कार्यान्वयनका क्रममा देखिएका वास्तविक समस्या र चुनौती तथा तिनका समाधानका उपायहरू र विकल्पहरू समेत पहिल्याउने गरी छलफल गर्न उपयुक्त हुने कुरा औँल्याउनु भयो । साथै‚ उहाँले चालु आ.व.मा सञ्चालन हुने कार्यक्रमहरूलाई पन्ध्रौँ योजनाको लक्ष्य र उद्देश्य हासिल हुने गरी सञ्चालन गर्न सबैले ध्यान दिन आवश्यक रहेको कुरा बताउनुभयो ।

समीक्षा बैठकमा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमहरूमा लक्ष्य बमोजिम प्रगति हासिल भएकोमा सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा वित्तीय र भौतिक प्रगतिबीच सन्तुलन कायम हुने गरी कार्य सम्पादन गर्ने व्यवस्था मिलाउन सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो । साथै‚ चालु आर्थिक वर्षदेखि विभागीय मन्त्रीज्यू र सचिवबीच कार्यसम्पादन सम्झौता गरी कार्य गर्ने नयाँ परिपाटी शुरु भएको हुँदा तदनुरूप कार्यसम्पादन सम्झौतामा उल्लेख भएबमोजिमको प्रगति निर्धा्रित समयभित्रै हासिल हुने गरी कार्य गर्ने सबैले सहयोग गर्नुपर्ने कुरा उहाँले औँल्याउनु भयो ।

समीक्षा बैठकमा राष्ट्रिय योजना आयोग¸ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय¸ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत निकायका प्रतिनिधिहरू तथा नेपाली सेनाका विभिन्न निर्देशनालयका प्रमुखहरूले आ(आफ्नो मन्तव्य राख्नुभएको थियो । बैठकमा मन्त्रालयका अधिकृतस्तरसम्मका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।