जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार ०७:३८

मंसिर १४ मा उपनिर्वाचन हुने, प्रदेश २ मा कहाँ–कहाँ हुँदै


काठमाडौं, साउन १८ ।  विभिन्न कारणले रिक्त भएका स्थानमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुने भएको छ । मुलुकका विभिन्न ३७ जिल्लामा ५० पदका लागि उपनिर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता शङकरप्रसाद खरेलले जानकारी दिनुभयो । बिहीबारको निर्णय बमोजिम मिति तय गरिएको आयोगले जनाएको छ ।

उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मङ्सिर १४ मा उपनिर्वाचन हुने उहाँले बताउनुभयो ।

बिहीबारै आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा १४ मंसिरमा उपनिर्वाचन गर्न सुझव दिएको थियो । साथै निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका र कानुन अनुसार निर्वाचन आयोगमा दर्ता भएका १८ वटा राजनीतिक दलसँग उपनिर्वाचनबारे आयोगले परामर्श गरेको थियो ।

प्रदेश २
महोत्तरी बलवा नगरपालिकाका ८ / २ वडामा दुई अध्यक्षको पद रिक्त रहेको छ । सिरहाको कल्याणपुर नगरपालिका–१२, रौटहटको गढिमाई नगरपालिका–२, त्यसैगरी महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, पर्साको सखुवा–पर्सौनी गाउँपालिका–५, सर्लाहीको हरिपुर्वा नगरपालिका–१, बाराको बारागढी गाउँपालिका–१ मा पद रिक्त रहेको छ ।

प्रदेश ३
रामेछाप उमाकुण्ड गाउँपालिका–५, नुवाकोट दुप्चेश्वर गाउँपालिका–१, भक्तपुर १ (ख)बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएपछि यहाँको पद पनि रिक्त रहेको छ । चितवनको खैरहनी नगरपालिकाका ४ र ५, काठमाडौंको दक्षिणकाली नगरपालिका–वडा ३, काभ्रेका धुलिखेल नगरपालिका–२, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा पनि पद रिक्त रहेको छ ।

गण्डकी प्रदेश
कास्कीको क्षेत्र नं २ मा प्रतिनिधिसभाको सदस्यको पद रिक्त रहेको छ । नेकपाका सांसद् तथा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएपछि यहाँको पद रिक्त रहेको छ । बाग्लुङ २ (ख) मा गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको पनि निधन भएपछि यहाँको प्रदेश सांसदमा पनि पद रिक्त रहेको छ । साथै बाग्लुङ बडिगाड गाउँपालिका–२ नवलपरासीको बुद्धिकाली गाउँपालिका–५ मा वडाअध्यक्ष खाली रहेको छ ।

प्रदेश ५
दाङको ३ (ख) बाट निर्वाचित उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि यहाँको पद खाली रहेको छ । अर्घाखाँची मालारानी गाउँपालिका–३, दाङको घोराही उपमहानगरपालिका–१६, बाँकेको कोहलपुर नगरपालिका–१६, गुल्मीको रुरु गाउँपालिका–६, रुपन्देहीको रोहिणी गाउँपालिका–७ मा पनि पद रिक्त रहेको छ ।

कर्णाली प्रदेश
हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपप्रमुख सिन्धु हमाल शाहीको निधन भएपछि यहाँको पदपनि रिक्त रहेको छ । प्युठानको ऐरावती गाउँपालिका १ र २ तथा प्युठान नगरपालिका–२ मा वडाध्यक्ष पद रिक्त छ । सल्यान कुमाखमालिका गाउँपालिका–५, डोटीको आदर्श गाउँपालिका–२ मा पनि पद रिक्त रहेको छ ।

सुदूरपश्चिम प्रदेश
अछामको मल्लेख गाउँपालिका–५, बाजुरा त्रिवेणी नगरपालिका–१ मा पनि वडाध्यक्ष पद खाली छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४, कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा पनि पद रिक्त रहेको छ ।