काठमाडौं, कात्तिक १ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र नागरिकताबारेको छानबिन विचाराधीन रहेको बेला सरकारले गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले आनी छोइङलाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावअनुसार लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई उपाध्यक्षमा मनोनीत गरिएको मन्त्रालयले जनाएको छ ।
उहाँविरुद्ध २०७५ सालदेखि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको र २०७६ सालमा नागरिकतासम्बन्धी उजुरी परेपछि छानबिन सुरु भएको थियाे । उपलब्ध विवरणअनुसार ती विषयको अनुसन्धान तथा छानबिनको अन्तिम निष्कर्ष सार्वजनिक भएको छैन ।
आनी छोइङ डोल्माले २०४६ सालमा छोइङ डोल्मा मोक्तान लामाको नामबाट नागरिकता लिएको विवरण सार्वजनिक भएको छ । उक्त नागरिकता साबिक चपली भद्रकाली गाविस–६, हाल बूढानीलकण्ठ नगरपालिका–२ का कान्छाबहादुर लामाको छोरीका रूपमा जारी भएको उल्लेख छ ।
कान्छाबहादुरको २०३९ सालमै निधन भइसकेको दाबी गर्दै उहाँका छोरा प्रमानसिंह लामा (मगई) ले २०७६ पुसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएको समाचारमा उल्लेख छ । उजुरीमा आनीले आफ्नो बुबाको नामबाट नागरिकता लिएको विषयमा प्रश्न उठाइएको थियो ।
उक्त उजुरीपछि स्थानीय पाँच जनाले समेत आनीलाई नचिनेको र उहाँले कुन आधारमा नागरिकता प्राप्त गरेको भन्ने विषयमा जिज्ञासा राख्दै प्रशासनमा कागज पेस गरेको समाचारमा जनाइएको छ ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै प्रकाशित विवरणअनुसार तत्कालीन महानगरीय प्रहरी परिसरले २०७६ पुस ८ गते नागरिकतासम्बन्धी विवरण माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्राचार गरेको थियो । तर, माग गरिएको विवरण प्राप्त नभएको दाबी गरिएको छ ।
त्यसपछि पनि विवरणका लागि ताकेता गरिएको र अनुसन्धान अघि बढाउने क्रममा तत्कालीन सरकारी पदाधिकारीबाट अनुसन्धान स्थगित गर्न निर्देशन आएको समाचारमा उल्लेख छ । यद्यपि, यस विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा तथा अनुसन्धानको पछिल्लो अवस्था स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ ।
आनी छोइङ डोल्माको बैंक खातामा विदेशबाट आएको रकमको स्रोतबारे प्रश्न उठेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेको यसअघि प्रकाशित समाचारमा उल्लेख छ । हङकङबाट उहाँको खातामा अमेरिकी डलरमा ठूलो रकम आएको र त्यसको स्रोत खुलाउन नसकिएको दाबी गरिएकाे थियाे । उक्त विवरणअनुसार रकमको कारोबारबारे बैंकले जानकारी दिएपछि अनुसन्धान अघि बढाइएको थियो ।
त्यतिबेला राष्ट्र बैंकले विदेशबाट आउन लागेको केही रकम रोक्का गरेको थियो । पछि रोक्का रकम फुकुवा गरिएको र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भने जारी रहेको दाबी गरिएको छ । साे अनुसन्धान अझै जारी रहेकाे बताइएकाे छ ।
नागरिकता र सम्पत्तिको स्रोतसम्बन्धी प्रश्न उठिरहेका बेला आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएपछि यी विषयको अनुसन्धान कुन अवस्थामा छ भन्ने प्रश्न उठेको छ ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय र उहाँसँग सम्बन्धित भनिएका अनुसन्धानका विषय अलग-अलग कानुनी प्रक्रिया हुन् । अनुसन्धान विचाराधीन रहनु मात्रले कुनै व्यक्तिमाथि लागेको आरोप प्रमाणित भएको मानिँदैन । तर आराेप लागिरहेकाे बेला सार्वजनिक पदमा नियुक्ति लिँदा नैतिक प्रश्न भने खडा भएकाे छ ।














प्रतिक्रिया दिनुहोस्