जनता टाइम्स

१ कार्तिक २०८३, आइतबार १५:४१

मकवानपुरमा भाडाको ईभी दुर्घटना, एकै परिवारका ६ जनासहित ११ घाइते


हेटाैँडा, कात्तिक १ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बादरेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा भाडाको विद्युतीय सवारी (ईभी) दुर्घटना हुँदा एकै परिवारका ६ जनासहित ११ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

आज दिउँसो १२ः३० बजे काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको ईभी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन् । उहाँको मुखमा चोट लागेको र थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

हरिसँगै उहाँका परिवारका सदस्यहरू २६ वर्षीया छोरी चन्दा कुमारी साह, २३ वर्षीया छोरी शिवा कुमारी साह, करिब पाँच वर्षीय नाति आर्यन साह, नातिनी शान्ति कुमारी साह र नाति शिवान्स साह पनि सवारीमा सवार थिए । उनीहरूलाई समेत उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रौतहट दुर्गा भगवती गाउँपालिका–१ का ३२ वर्षीय राजेश साहको बायाँ खुट्टामा चोट लागेको छ । भारतको बिहारस्थित मोतिहारी जिल्लाका करिब ३४ वर्षीय सर्फे आलमको नाक र बायाँ काँधमा चोट लागेको छ ।

त्यसैगरी, रौतहटको चन्द्रपुर नगरपालिका–११ पडरियाटोलकी करिब २४ वर्षीया सबिता कुमारी चौधरीको बायाँ कोखामा, यमुनामाई नगरपालिका–४ यादवटोलका करिब १९ वर्षीय राहुल ठाकुरको मुखमा तथा धमनीमाई नगरपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुरको टाउको र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हरि साहलाई रिफर गरिएपछि अन्य पाँच जनालाई पनि थप उपचारका लागि सीएमसी पठाइएको हो । अन्य घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।

दुर्घटनापछि ईभी घटनास्थलमै रहेको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।