जनता टाइम्स

२० कार्तिक २०७५, मंगलवार ११:४२

होम डेलिभरी सेवा दिन नमान्ने रौतहटका नर्सलाई आक्रमणको धम्की


काठमाडौं– होम डेलिभरिका लागि घर नआएको निहुँमा स्थानीयले पटक–पटक आक्रमण गर्न खोजेको भन्दै सुरक्षाका लागि पाँच जना नर्स गरुडा प्रहरी कार्यालय, रौतहट पुगेका छन् । केही समयअघि घरमै प्रसूती सेवा दिन इन्कार गरेको निहु बनाएर स्थानीय हरिनारायण गुप्ता लगायतको समूह आक्रमण गर्न आएको भन्दै रौतहटको गरुडा नगरपालिका अन्तर्गत कार्यरत नर्स मीरा धिताल लगायतका ४ जना सुरक्षा माग गर्दै बुधबार बिहानैदेखि प्रहरी चौकी पुगेका छन्।

महम्मदपुर स्वास्थ्य चौकी वर्थिङ सेन्टरमा कार्यरत नर्स धितालले स्थानीय समुदाय र स्वास्थ्यकर्मीले आफूलाई सुरुदेखि नै होम डेलिभरीका लागि दबाब दिँदै आएको बताइन् । उनले भनिन्, ‘घरमै सुत्केरी गराइदिन मलाई प्रलोभन देखाउनेदेखि धम्क्याउनेसम्म गरिन्थ्यो । स्वास्थ्य संस्थामै दिनहुँ ९\१० जना प्रसूति आउने र सरकारको होम डेलिभरी न्युनिकरण नीति विपरित काम भएकाले मानेकी थिइनँ ।’

मंगलबार पनि ९ जना डेलिभरीका लागि आएको तर आफू एक्लै भएकाले गम्भीरताका आधारमा सुत्केरी गराइरहे पनि बिरामी नहेरेको आरोपमा आक्रमण गर्न खोजिएको उनले  बताइन् । उनले भनिन्, ‘बढी गम्भीर बिरामी हेर्दै थिएँ । कम गम्भीरलार्इ कुर्ने भनेकी थिएँ । तर, उनीहरु घरतिर गएछन् । एक घन्टापछि बाटामै डेलिभरी भएर साल अड्किएको थाहा पाएपछि म गएर साल निकालेर सुत्करीको ज्यान जोगाएँ । तर स्थानीय हरिनारायण गुप्ता र उनका छोराले साेही विषयलार्इ लिएर लापरबाही भएको भन्दै आक्रमण गर्न लखेटे । म भागेर ज्यान जोगाउन सफल भएँ।’

गुप्ताले केही समयअघि आफ्नी बुहारीको होम डेलिभरी गरिदिन उनलाई भनेका थिए । तर, जटिल केस भएको भन्दै उनले स्वास्थ्य संस्थामै डेलिभरी गराउन सुझाएको बताइन्।

असुरक्षा बढेको भन्दै स्वास्थ्य चौकी इन्चार्ज र नर्स धिताल जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । आफूले मात्रै नभइ रौतहटमा कार्यरत अरु नर्सले पनि उनले जस्तै दुव्र्यवहार, धम्की र  आक्रमण जस्ता घटना खेप्नु परेको उनले बताइन् । उनले भनिन्, ‘अरुले पनि काम असहज भएको गुनासो गरिरहनुभएको थियो । अहिले सुरक्षा बिना काम गर्न नसक्ने अवस्थामा पुगेका छौं।’