जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार ०६:२५

बांके र बर्दियामा सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने ६ जना सरकारी कर्मचारी प्रहरी नियन्त्रणमा


 

बुटवल, साउन २१ । बांके र बर्दियामा सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने फरार ६ जना मालपोतका कर्मचारी काठमाण्डौबाट पक्राउ परेकाछन् ।

उनीहरुलाई नेपाल प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । प्रहरीले जग्गा कीर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकारी उपसचिवे दीर्घबहादुर पोखरेलसहित ६ जनालाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी उपरिक्षक बिरबहादुर ओलीले पुष्टी गरेका छन् । बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउने तत्कालीन प्रमुख मालपोत अधिकारी पोखरेलसहित २८ जनाविरूद्ध अख्तियारले जेठ ३० गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले बाँकेका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड १६ लाख र बर्दियाका जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड ३० लाख भ्रष्टाचार भएको दावी गरेको छ । पक्राउ पर्नेहरुमा पोखरेलसहित शाखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली, नायब सुब्बा रविन्द्रबहादुर थापा, मालपोत अधिकृत हेमराज शर्मा र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय रहेका छन् । एक जनाको कार्यालय सहयोगीको पहिचान भएको छैन ।

मुद्दा लाग्नेहरूमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत पोखरेल, मालपोत अधिकृतहरु पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोककुमार भट्टराई नायव सुब्बाहरु रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खड्का र मानबहादुर केसी कम्प्यूटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्यूटर अपरेटर करार प्रेमबहादुर चन्द ठकुरी, खरिदारहरु सुशील रिजाल, संजय कुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरी रहेका छन् ।

त्यस्तै मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्णप्रसाद ज्ञवाली, मालपोत अधिकृत रामकुमार रोका, नायव सुब्बाहरु कृष्णलाल शर्मा, रविन्द्रबहादुर थापा, खरिदारहरु भूमिराज पोखरेल, किशोरकुमार रिजाल, तुलसीरानी थारु, कम्प्यूटर अपरेटर (करार) लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय तथा कौशल भन्ने खैरूल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, बिरू भन्ने बृहस्पति खड्का र पप्पु धोवी रहेका छन् ।