जनता टाइम्स

२९ कार्तिक २०७९, मंगलवार ११:५४

तालिबान नेताले न्यायाधीशलाई भने शारिया कानुनअनुसार सजाय तोक्नू


एजेन्सी, २९ कात्तिक । तालिबान नेता हैबतुल्लाह अखुन्दजादाले अफगान न्यायाधीशहरूलाई निश्चित अपराधका लागि सार्वजनिक स्थानमा झुन्डाउनेदेखि ढुंगाले हिर्काउने जस्ता सजाय तोक्न आदेश दिएका छन् । डकैती, अपहरण र देशद्रोह जस्ता अपराधहरूलाई इस्लामिक शरिया कानूनको व्याख्याअनुसार सजाय दिनुपर्ने अखुन्दजादाका प्रवक्ताले बताएका छन् ।
न्यायाधीशहरूले अपराधीहरूलाई शरिया अनुसार सजाय दिनुपर्ने तालिबानका सर्वोच्च नेताको भनाई छ । तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै मुल्ला अखुन्दजादाले न्यायाधीशहरूको समूहलाई भेटेपछि “अनिवार्य“ आदेश आएको बताए ।
“चोरहरू, अपहरणकर्ताहरू र देशद्रोह गर्नेहरूको फाइलहरू ध्यानपूर्वक जाँच गर्नुहोस्,“ मुजाहिदले अखुन्दजादालाई उद्धृत गर्दै भने ।
सन् १९९० को दशकमा शक्तिमा हुँदा सार्वजनिक रुपमा मृत्युदण्डलगायत क्रुर सजायका लागि तालिबान आलोचित बनेको थियो । १५ महिनाअघि सत्तापलट गरेपछि तालिबानले नरम ढंगले शासन गर्ने प्रतिबद्धता जनाएका थिए । तर सत्तारोहणपछि तालिबानका लडाकुले निरन्तर ढंगले दमन गरिरहेका छन् । महिला अधिकारमा अंकुश लगाइएको छ ।