जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार ०९:१९

लोकप्रिय सामाजिक संजाल ह्वाट्सएप र इन्स्टाग्रामको नाम परिवर्तन गरिँदै


साउन २२ । फेसबुक कम्पनीका दुई लोकप्रिय सामाजिक संजाल इन्स्टाग्राम र ह्वाट्सएपको नाम परिवर्तन गराइने भएको छ । यसमा दुवैलाई फेसबुकसँग जोड्दै इन्स्टाग्रामको नाम ‘इन्स्टाग्राम फ्रम फेसबुक’ र ह्वाट्सएपको नाम ‘ह्वाट्सएपफ्रम फेसबुक’ राखिने बताइएको छ ।

कम्पनीले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई एउटै ब्रान्डका रुपमा जोड्नका निम्ति यस्तो निर्णय लिएको इन्डिपेन्डेन्टले बताएको छ । ह्वाट्स एप र इन्स्टाग्राम दुवै फेसबुक कम्पनीकै भए पनि तिनलाई छुट्टै एपका रुपमा सञ्चालन गरिँदै आएको थियो । यसैकारण हामीले ह्वाट्सएप वा फेसबुक चलाउँदा तिनीहरु फेसबुक कम्पनीका हुन् भन्ने कतै आभास हुँदैन । तर अब भने कम्पनीले स्पष्ट रुपमा यी तीन एपहरु जोडिएको र एउटै ब्रान्डको भएको देखाउन लागेको बताइएको छ । यस्तोमा गुगल प्ले र एप स्टोरमा समेत तिनको नाम यही हुने बताइएको छ । हाम्रो फोनको होमस्क्रिनमा भने एपको नाम अहिलेका लागि यथावत् राखिन सक्ने बताइएको छ ।

फेसबुककै हिस्सा भएको स्पष्ट पार्नका लागि कम्पनीले यस्तो निर्णय गरेको हो । किनकि यसअघि नै फेसबुक कम्पनीले यी तीन एपको संरचना एउटै बनाइएको घोषणा गरेको थियो । जसमा प्रयोगकर्ताले इन्स्टाग्रामबाट पठाएको म्यासेज ह्वाट्सएप च्याटमा पठाउन मिल्ने सेवा प्रदान गरिने बारेमा फेसबुकका प्रमुख मार्क जुकरबर्ग आफैँले उल्लेख गरेका थिए ।

उनका अनुसार अहिले मान्छेले फेसबुकमा म्यासेज पठाउन म्यासेन्जरकै प्रयोग गर्नुपर्छ र इन्स्टाग्राममा पनि त्यस्तै छ भने ह्वाट्सएपमार्फत च्याट गर्न पनि ह्वाट्सएपनै खोल्नुपर्छ । त्यसैले आफूहरुले प्रयोगकर्तालाई सम्पर्क गर्न भिन्दाभिन्दै विकल्प प्रदान गर्न चाहेकाले नै यस्तो गर्न लागिएको उनले बताएका थिए । उनले भनेका छन्, “सबैले आफ्ना आफन्त र साथीहरुसँग जुनसकुै एपबाट पनि सम्पर्क गर्न सकून् भन्ने हामी चाहान्छौँ । त्यसैले यस्तो सेवा उपलब्ध गराउने प्रयास गरिरहेका छौँ ।”

तर अर्कोतर्फ यी एपहरु फेसबुकसँग जोडिनुले समस्या पनि गराउन सक्ने भनिएको छ किनकी फेसबुकले यो वर्ष गम्भीर आरोपहरुको सामना गर्नुका साथै कानुनी विवादमा समेत फसेको थियो । एजेन्सी