जनता टाइम्स

१९ मंसिर २०७९, सोमबार ०९:३९

उपराष्ट्रपतिपुत्र दिपेशको सहकारीले फिर्ता गर्न सकेन बचतकर्ताको पैसा


बुटवल, मंसिर १९ । उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनको सहकारीले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको पाइएको छ । बचतकर्ता पैसा लिन जाँदा पुनको सहकारीले फिर्ता गर्न नसकेको हो ।

बचतकर्ताहरुका अनुसार बुटवलको राजमार्ग चौराहमा रहेको पुनको सुप्रिम सहकारीले बचतकर्ताको पैसा फिर्ता नदिएको हो । बुटवल होराइजन चोककी पूजा श्रेष्ठका अनुसार सो सरकारीले आफ्नो पैसा फिर्ता नदिई टारेको छ । उहाँ दुर्गा पूजा सुरु भएपछि ३० हजारको चेक लिएर सहकारी पुग्नुभएको थियो ।

दसैँको समयमा चेक काटेर पनि रकम भुक्तानीमा सहकारीले आलटाल गरेपछि उहाँले कर्मचारीसँग झगडा नै गर्नुभयो । श्रेष्ठलाई जसोतसो खुजुरा पैसा दिएर चेक साटेको सहकारीले दसैँको बेलामा सहकारीका धेरै बचतकर्तालाई पैसा दिनै सकेन ।

सहकारीको गेट अगाडि दिनहुँ रकम फिर्ता माग्न भिड्नै लाग्यो । सहकारीमा रकम बचत गरेका बचतकर्ताले यसबारे बुटवल उप महानगरपालिकालाई जानकारी समेत गराए । तर उप महानगरपालिकाले अधिकार क्षेत्र बाहिर रहेको भन्दै विषयलाई प्राथमिकतामा नै राखेन ।

मूल कारोबार काठमाडौँमा लक्षित गरेर बुटवलमा कार्यालय सञ्चालन गरेको सुप्रिम सहकारी सहित अन्य सहकारीको गुनासो उप महानगरपालिकामा आएको बुटवल उप महानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले बताउनु भयो । उहाँले सहकारीहरूमा राखेका बचत सङ्कटमा परेको सूचना प्राप्त भए पनि कार्यक्षेत्र बाहिरका सहकारी भएका कारण केही गर्न सक्ने अवस्था नरहेको उनले बताउनु भएको छ ।

अहिले पनि यो सहकारी समस्याग्रस्त छ । बचतकर्ताहरूले मिलेसम्म त्यहाँबाट रकम झिक्न लागेका छन । तर सहकारीले बचतकर्तालाई पुरा रकम दिन सकेको छैन। सर्वसाधारणको रकम जम्मा गरेर बिना धितो ऋण प्रवाह गरेको सुप्रिम सहकारी चरम आर्थिक सङ्कटमा रहेको छ ।
सुप्रिम मात्र होइन बुटवलको अमरपथमा प्रधान कार्यालय रहेको आगन्तुक सहकारीले पनि बचतकर्ताको रकम जोखिममा पारेको छ । सहकारीका सञ्चालकहरू कार्यालय नै बन्द गरेर बेखवर भएको बचतकर्ताहरुको भनाइ छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष ओम गुरुङले बचतकर्ताहरूको रकम सङ्कलन गरेर प्रवाह गरेको लगानी नउठेपछि बचतकर्ताहरूलाई फिर्ता गर्न केही समस्या भएको स्वीकार गर्नुभयो । सहकारी ऐन अनुसार सहकारीले सदस्यहरू भन्दा बाहिर लगानी गर्न मिल्दैन तर काठमाडौँ शैलीको व्यवसाय नाम दिइएको सहकारीको यो शैलीले बढी ब्याज असुल्ने नाममा यस क्षेत्रका स्थानीयसँग सङ्कलन गरेर काठमाडौँमा रहेका व्यापारीहरूलाई बिना धितो लगानी गर्ने गरेको स्रोतको भनाइ छ ।

बुटवल बजारबाट मात्रै सङ्कलन गरेको रकम १ अर्ब २० करोड रुपैयाँमध्ये सहकारी ऐन विपरीत लगानी गरेको कारण समस्या देखिएको हो ।
सो सहकारीका संस्थापक अध्यक्ष जीवी राई हुनुहुनछ । हर्वो नेचर नामक नेटवर्किङ शैलीको व्यवसायमा संलग्न राइ हाल उनी ग्यालेक्सी टेलिभिजनका अध्यक्ष रसहकारीको संरक्षक हुनुहुन्छ । त्यसैगरी सहकारीका सचिव उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन हुनुहुन्छ ।