जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार ०८:२१

पेस्तोल र गोलीसहित नेपाली नागरिक भारतमा पक्राउ


काठमाडौं,२७ साउन । नेपाल–भारतको सीमावर्ती नाकामा पेस्तोलर त्यसमा लाग्ने सात राउन्ड गोलीसहित एकजना नेपाली पक्राउ परेका छन् । भारतको पानीटंकी नाकाबाट काँकडभिट्टातर्फ आइरहेका झापाको मेचीनगर नगरपालिका– ११ स्थित गैरीगाँउ बस्ने ३७ वर्षीय र्कीतन वतर (चौधरी) लाई पेस्तोलसहित भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको हो ।

एसएसबी ४१ बटालियन रानीडाँगाका टोलीले आइतबार विशेष सुराकी आधारमा नेपाली नागरिक वतरलाई पानीटंकीमा निर्मित एसियन हाइवेको फ्लाई ओभरबाट पक्राउ गरेको जनाइएको छ । एसएसबीले दिएको जानकारी अनुसार खोरीबासी बस्ने विजय राजवंशीले फोन गरेर वतरलाई भारतको पानीटंकी बोलाएका थिए । पेसाले सिटी सफारी चालक रहेका वतर आफ्नो मे १ ह ६९५० नम्बरको सफारी लिएर भारतीय नागरिक विजयलाई भेट्न पानीटंकी गए। त्यसपछि फ्लाई ओभरमा दुवैजना भेटघाट गरे । भेटघाटपछि सिटी सफारी फ्लाई ओभरमै राखेर उनीहरू कतै लागे ।

फर्किँदा वतर एक्लै आए र आफ्नो सिटी सफारीसहित काँकडभिट्टा जान लागेकै अवस्थामा एसएसबीका जवानले उनलाई नियन्त्रणमा लिएर सिटी सफारी चेकजाँच गरे । सफारी चेकजाँच गर्दा सफारीभित्र ७/६५ एमएमको सात राउन्ड गोलीसहित मेड इन युएस लेखिएको पेस्तोल फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।