जनता टाइम्स

७ माघ २०७९, शनिबार १६:०१

आर्थिक सामर्थ्य राम्रो बनाउने अभियानमा सरकारलाई सबैको साथ चाहिएको छ : अर्थमन्त्री


काठमाडौं, माघ ७ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चुनौती बढेको बताउनु भएको छ । कृषि विकास बैंक लिमिटेडको ५६औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।

उहाँले बजेटको मध्यावधिक समीक्षा गर्नुपर्ने समयमा समेत पुँजीगत खर्च १४/१५ प्रतिशत मात्रै हुनु अर्थतन्त्रमा ठुलो चुनौती भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘राजस्व परिचालनमा चालू आर्थिक वर्षको लक्ष्य भेटाउन नसक्नुले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको छ ।’

गत वर्ष यही समयमा राजस्व परिचालनभन्दा पनि यस वर्ष झन पछाडि परेको तथ्यांक पनि उहाँले राख्नुभयो । आर्थिक दृष्टिकोणले खडा भएको चुनौती सामना गर्दै आर्थिक सामर्थ्य राम्रो बनाउने अभियानमा सरकारलाई सबैको साथ चाहिएको पनि उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक दृष्टिकोणले खडा भएको चुनौती सामना गर्दै आर्थिक सामर्थ्य राम्रो बनाउने अभियानमा सरकारलाई सबैको साथ चाहिएको छ ।’ कार्यक्रममा उहाँले अर्थमन्त्री पौडेलले खर्च कटौती र मितव्ययिताका लागि कृषि विकास बैंकको साथ पाउने अपेक्षा पनि राख्नुभयो ।