जनता टाइम्स

१४ माघ २०७९, शनिबार १६:३८

सबै सरकारी वेबसाइटको सर्भर डाउन, हवाई उडान प्रभावित


काठमाडौं, माघ १४ । सरकारको केन्द्रीय सर्भर ह्याक भएको आशंका गरिएको छ। शनिबार साढे १२ बजेदेखि सिंहदरवारमा रहेको केन्द्रीय सर्भर डाउन भएपछि देशभरिका सरकारी वेवसाइटहरू ठप्प भएको छ।

अध्यागमन विभागजस्तो संवेदनशील क्षेत्रको वेवसाइटहरूसमेत ठप्प हुँदा अतिआवश्यक विवरण संकलनमा कठिनाइ भएको छ। सूचना प्रविधिका विज्ञहरूले भने सर्भर ह्याक भएको आशंका गरेका छन्। आन्तरिक समस्या आउँदा सबै वेवसाइटहरू एकैपटक डाउन नहुने तर्क गर्दै उनीहरूले ह्याकरहरूले सर्भरमा आक्रमण गरेको हुनसक्ने बताए।

सरकारी एक अधिकारीले पनि सर्भरमा ह्याकरको अट्याक भएको स्वीकारे। ह्याकरले अट्याक गरे पनि सर्भरमा पहुँच बनाउन भने नसकेको ती अधिकारीले बताए । ती अधिकारीका अनुसार कर्मचारीकै बदमासीका कारण पनि यस्तो भएको हुनसक्ने बताउनु भयो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने प्राविधिक समस्याका कारण वेवसाइटहरू नचलेको बताउनु भयो । उहाँले प्राविधिकहरूले समस्या समाधान गरिरहेको भए पनि के कारणले त्यसो भएको एकीन हुन नसकेको बताउनु भयो ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको सर्भर डाउन भएसँगै पाँचवटा वायुसेवाका उडान बन्द भएका छन् । अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान बन्द गर्न परेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताउनु भयो ।