जनता टाइम्स

२० माघ २०७९, शुक्रबार १६:२३

नेपाली कामदारलाई पनि आफ्नै देशका कामदार सरह सुविधा दिन मलेसिया तयार


काठमाडौं, माघ २० । मलेसिया सरकारले नेपाली कामदारलाई पनि आफ्नै देशका कामदारको जस्तै सेवा सुविधा दिने प्रतिवद्धता जनाएको छ ।  नेपाल भ्रमणमा रहनुभएका मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेतृत्वको टोली र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको टोलीबीच आज भएको छलफलमा यस्तो प्रतिवद्धता जनाएको हो ।

बार्तामा मलेसियाका गृहमन्त्री इजमाइलले नेपाली कामदारहरूलाई मलेसियाको स्थानीय कामदार सरह सेवा सुविधा दिने प्रद्धिवद्धता जनाउनु भएको छ । मलेसियामा नेपाली कामदार पठाउदा सिपयुक्त बनाएर पठाउने जिम्मेवारी आफुहरूको रहेको र सेवा सुविधामा कुनै कमी हुन नदिने मलेसियाको प्रतिवद्धता रहेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

बैठकमा श्रम सम्झौता नविकरण गर्न मलेसियाको प्रस्ताव रहेको र आवश्यक सुधार गरी नविकरण गर्ने कुरा भएको मन्त्री अर्यालले बताउनु भयो । त्यस्तै मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसियामा नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेको पनि बताउनु भयो ।

मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको र यसले नेपाली कामदारलाई फाइदा हुने छ । मलेसियाले कामदार सहज भर्ना प्रक्रिया र पुनः क्यालिब्रेसन कार्यक्रम सञ्चालनमा ल्याएको छ । मलेसियाले घरेलु क्षेत्रमा नेपाली कामदारलाई पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न पनि प्रस्ताव राखेको छ । काठमाडौंको सोल्टी होटलमा भएको द्वीपक्षीय बैठकमा मलेसियाको तर्फबाट मलेसियन गृहमन्त्री फुद्दिन इजमाइलले घरेलु कामदार पठाउन प्रस्ताव राख्नुभएको छ ।

नेपालले यो प्रस्तावलाई नेपाल र मलेसियाको संयुक्त प्राविधिक बैठकमा एजेन्डा बनाउन तयार भएको छ । यो बैठक तीन महिनाभित्र राख्न पनि मलेसिया तयार भएको छ । ‘मलेसियाले घरेलु कामदारलाई पठाउन राखेको प्रस्तावलाई संयुक्त प्रविधिक समितिको बैठकमा राखेर टुंगाउन तयार भएका छौं,’ बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले भन्नुभयो ।

बैठकमा मलेसियाले तुरुन्तै ५ लाख विदेशी कामदार लैजान ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ ल्याएको बारे नेपाललाई औपचारिक रुपमा जानकारी दिएको छ । ‘हामी तुरुन्तै ५ लाख विदेशी कामदार लैजान्छौं । यसमा नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेका छौं,’ मलेसियन गृहमन्त्रीको भनाइ थियो ।

मलेसियन पक्षले कम्पनी छाडेर वा भिसाको म्याद समाप्त भएपछि पनि बसिरहेका अलेखबद्ध (गैरकानुनी हैसियत भएका) कामदारलाई पुनः कानुनी हैसियतमा ल्याउने गरी नयाँ कार्यक्रम ल्याएको जानकारी नि दिइएको छ । नेपालले मलेसियामा कार्यरत सबै नेपाली कामदारलाई सामाजिक सुरक्षा कार्यक्रम (सोस्को)मा समेट्नका लागि पनि अनुरोध गरेको छ ।

बैठकमा नेपाली सुरक्षागार्डको अवस्थाबारे पनि छलफल भएको छ । श्रम मन्त्रालयले नेपालबाट प्रहरी, सेना र सशस्त्र प्रहरी छिट्टै अवकाश पाउने हुँदा उचित तलब सेवा सुविधा दिइ सुरक्षा गार्डमा आकर्षित गर्नुपर्नेमा जोड दिइएको थियो ।