जनता टाइम्स

२४ माघ २०७९, मंगलवार २०:५३

युएसएआइडीले नेपालमा बढायो लगानी, सात अर्ब बढी सहयोग गर्ने


काठमाडौं, माघ २४ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) ले नेपालका सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी गरेको छ ।

दुई दिने नेपाल भ्रमणमा रहनुभएकी युएसएआइडीका प्रशासक सामन्था पावरले मंगलबार नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआइडीले पाँच करोड ८५ लाख अमेरिकी डलर (साढे सात अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

सो रकम स्रोतको उपलब्धतामा निर्भर हुनेछ । उक्त घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको यहाँस्थित संयुक्त राज्य अमेरिकाको दूतावासले जनाएको छ ।

नेपालमा यसै वर्ष आमनिर्वाचन सम्पन्न भएसँगै संघीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, युवाको सशक्तीकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग छ । यस कार्यमा अमेरिकाको साझेदारी रहने पनि दूतावासले जनाएको छ ।

दुतावासका अनुसार युएसएआइडीको लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानूनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धी मजबुत पार्न र नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्नेछ ।

मानव बेचबिखन विरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएआइडीले जारी राख्ने जनाएको छ । मंगलबार घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही तबरबाट सार्वजनिक सेवा प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न दुई करोड डलरसम्म समावेश गरिएको छ ।

उक्त लगानीमा सामुदायिक आवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायका नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थालाई सहयोग गर्न एक करोड ८५ लाख डलरसम्मको रकम समाविष्ट रहेको छ ।

सरकार र आमजनतासँग प्रभावकारीरूपमा संलग्न हुन आवश्यक सीप, विश्वसनियता र विधि विकास गर्दै गर्दा उक्त नागरिक समाजका संगठनसँग युएसएआइडीले काम गर्नेछ ।

युएसएआइडीले सञ्चार माध्यममाथिको सामाजिक विश्वास बढाउने किसिमका विश्वसनीय सूचना र अझ बढी विविधतायुक्त भाष्यहरूमा सार्वजनिक पहुँच सुधार गर्ने प्रयासलाई सहयोग गर्न सञ्चार माध्यमसँग पनि साझेदारी गर्ने जनाएको छ ।

कानूनी शासनलाई मजबुत बनाउन, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई थप टेवा पुर्याउन र मानव बेचबिखन विरुद्ध लड्न पनि युएसएआइडीले स्थानीय नेपाली संघसंस्था र सरकारी संस्थासँग निकट रही काम गर्ने र तिनलाई सहयोग गर्ने जनाएको छ ।

नेपालले हालसालै जारी गरेको साझा न्यूनतम कार्यक्रममा समाविष्टलगायतका सरकारी प्राथमिकतासँग सहयोगलाई समायोजन गर्न सम्बन्धित नेपाली सरकारी निकायसँगको साझेदारीमा काम गर्न तत्पर रहेको पनि युएसएआइडीले उल्लेख गरेको छ ।